close

ईभी ट्याक्सी चालकको अनुभव- ‘पहिले दिनकै १६०० को तेल हाल्थेँ । अहिले ३०० पनि खर्च हुँदैन’

असार २९, २०८० ९:२२

ईभी ट्याक्सी चालकको अनुभव- ‘पहिले दिनकै १६०० को तेल हाल्थेँ । अहिले ३०० पनि खर्च हुँदैन’

म ट्याक्सी चालक हुँ । १३ वर्षभन्दा बढी भइसकेको छ म यस क्षेत्रमा काम गरिरहेको । पहिले पेट्रोलबाट चल्ने ट्याक्सी चलाउथेँ ।  अहिले बिजुली (ईभी)ट्याक्सीमा सरेको छु । अर्थात्, म ईभी ट्याक्सीको मालिक भएको छु ।

करिब एक महिना भएको छ, मैले यसमा यात्रु बोक्न थालेको । मैले टाटाको एक्स प्रेस टी (Tata XPRES - T) ट्याक्सी लिएको छु ।

पहिलेको दाँजोमा पेट्रोलियम इन्धन निकै महँगो भएको छ । त्यसको असर कमाइमा पर्छ । अर्थ, नाफा कम हुनु हो । मैले पनि यसको असर झेलेँ । कमाइ हुनै छाडेको थियो । यही बीचमा ईभीमा गए फाइदा हुन्छ कि भन्ने लागेको थियो । विश्वास भने लागिरहेको थिएन - के ईभी, पेट्रोलबाट चल्ने गाडी जस्तै बलियो हुन्छ ? म अलमलमा नै थिएँ ।

यस्तो दोधारको बेला मेरो डेरा नजिकैका एक जनाले ईभी ट्याक्सी लिए । उनलाई म सम्बोन्धन गर्दा ‘दाइ’ भन्छु । दाइले १०/१२ दिन ईभी चलाएको मैले राम्रै हेरेँ । चिया/कफीको बेलाको मुख्य विषय ईभी नै बन्यो । यस्तैमा एक दिन गाडीको परीक्षण गर्न ह्वाइट गुम्बा पनि गयौं । त्यहाँ जाने बाटो अलि उकालै छ । हुन त दाइले उकालोमा गाडी जान्छ भनेकै थिए । तर मैले भने पत्ताएको थिइनँ । त्यस यात्रामा अन्य तीन जना पनि थिए । हामीले उकालोको बीचमा गाडी रोकेर फेरि कुदाउएका थियौं । त्यो उकालो चढ्न गाडीलाई उस्तो समस्या नै भएन ।  यसपछि बल्ल ईभीमा विश्वास्त भएँ ।

पछि आफैंले किन्नुअघि ईभीबारे अध्ययन गरेँ । किनेपछि केकति हुँदा फाइदा हुन्छ भनेर हिसाब गरेँ । ती सबैबाट ईभी किन्दा आफू चल्न सकिने अवस्था देखियो । अनि मात्रै टाटाको नेपालका लागि आधिकारिक विक्रेत सिप्रदीमा सम्पर्क गरेँ । शाेरुममा यसको शुल्क ३६ लाख ९९ हजार रुपैयाँ छ । तर ट्याक्सी नम्बर, मिटर, बैंकको सेवा शुल्क गरेर अलि महँगो भयो । मैले यो गाडी ४२ लाख रुपैयाँमा बैंकबाट कर्जा लिएर किनेँ । 

यो एक महिनामा नयाँ ट्याक्सी ४३५४ किलोमिटर कुदिसकेको छ । मेरो दिनभरीको औसत दौड १२०/१३० किलोमिटर हुन्छ । दूरीको मामिलामा भने पेट्रोल र ईभीमा उस्तै उस्तै भन्न पर्छ । तर हुने खर्चमा भने धेरै अन्तर छ । पहिले दिनकै १६०० देखि १७०० रुपैयाँसम्मको पेट्रोल हाल्थेँ । अहिले ट्याक्सी चलाउन दिनमा ३०० रुपैयाँमा जति मात्र लाग्छ । जे सोचेर ईभी किनेको त्यो पूरा भइरहेको लाग्छ ।

अर्डर गरेको तीन दिन भित्रमा सिप्रदीले मलाई ट्याक्सी दिएको थियो । पछि ट्याक्सीमा सीसी क्यामेरा जडान गरिदियो । अनि, ट्याक्सी बारे तालिम पनि दियो । जुन निकै उपयोगि साबित हुँदै छ । 

मैले बैंङ्कबाट कर्जा लिएर ईभी ट्याक्सी किनेको हुँ । ट्याक्सी किन्न कर्जा पाउने भएपछि साढे सात लाख रुपैयाँ र बैंकको चिठी लिएर शाेरुम गएँ । ट्याक्सीको नम्बर प्लेट पाउन सबै कुरा सनाखत गरेर यातायात व्यवस्था विभागको कार्यालय गएँ । त्यहाँ ‘राेड पर्मिट’ पनि लिएँ । त्यो कुरा बैंकलाई जानकारी गराएपछि अर्को चिठी बनाइदियो । नेपाल गुणस्तर तथा नापतौल विभागमा त्यही चिठी लगेर गएँ । त्यो चिठी ट्याक्सीमा जडान हुने मिटर सम्बन्धी थियो । त्यहाँबाट नयाँ मिटर जडान गर्ने स्वीकृत पाएर त्यो पनि काम पनि गरेँ । अनि सबै कागजी काम सकेर बैंकले ‘यो दिनबाट किस्ता सुरु हुन्छ भनेर मिति’ दियो । अहिले नियमित किस्ता तिर्न थालेको छु । 

यो माथिको प्रक्रिया सुन्दा मात्र सजिलो, व्यवहारमा निकै गाह्रो छ । अनुभवका आधारमा भन्दा यो काम फत्ते गर्न दुईदेखि तीन हप्तासम्म लाग्न सक्छ । यसलाई केही दिनमा नै गर्न सकिने बनाउन पाए धेरैलाई सजिलो हुन्थ्यो ।

अहिले म इन्ड्राइभर, पठाओ जस्ता राइड शेयरिङबाट यात्रु लिने गर्छु । पहिले जस्तो बाटोमा मान्छे खोजेर काम गर्ने चलन कम भइसकेको छ । एपमा नै भाडा निर्धारण हुने भएकाले विवाद पनि हुँदैन । हामी जस्ता ट्याक्सी ड्राइभर प्रविधिलाई आत्मसात् गरेर अगाडि बढेका छौं । पठा‌‌ओले लिने कमिसन चार्ज अलि बढी भन्ने लाग्छ । हामी प्रविधिमैत्री हुँदै जाँदा फाइदा पनि हुनपर्छ । एपवाला कम्पनीलाई मात्र फाइदा भएर हुँदैन । 

ट्याक्सीलाई म ग्यारेजमा चार्ज गर्ने गर्छु । एक पटक त्यहाँको बत्ति बिग्रेछ । ट्याक्सी चार्ज गर्न बिहानै ५ बजे जाँदा निकै कुर्नुपर्‍याे । बल्ल साढे ७ बजे पालो आयो । ९ बजेसम्म चार्ज गर्न नै लाग्यो । तर चार्जिङ स्टेसनहरू धेरै भएको भए मैले त्यस्तो समस्या भोग्नु पर्दैन थियो । यसको व्यवस्था गर्न सरकार र सिप्रदी दुवै जिम्मेवार छन् ।

प्राय: ट्याक्सीलाई बेलुका लगेर चार्ज गर्छु । ट्याक्सीको ब्याट्री कति प्रतिशत तल झरेको छ भन्ने कुराले युनिट खपत निर्धारण गर्छ । सामान्यतः १० देखि १५ युनिट उठिरहेको हुन्छ । ग्यारेजमा गाडी राख्न मात्रै ३००० लिएको छ । मलाई एसी चार्जरबाट गाडी फुल चार्ज गर्न सातदेखि आठ घण्टा लाग्छ । डीसी चार्जरमा भने करिब एक डेढ घण्टा भित्रमा हुन्छ ।

ईभी ट्याक्सी कुदाउँदा पेट्रोल गाडीको तुलनामा प्रति किलोमिटर एक किलोमिटर पाँच रुपैयाँ बचत हुन्छ । त्यसबेला मैले २० लाख रुपैयाँमा पेट्रोलबाट चल्ने ट्याक्सी किनेको थिए । ‘अहिले लगानी अलि बढी भएको, त्यति बेला कम भएको र पहिले पेट्रोल खाने र बिजुलीले चल्ने’ भन्ने मात्र फरक छ । तर तीन/चार वर्षसम्म कुनै फाइदा भने हुँदैन । किनकि किस्ता तिर्नुपर्ने हुन्छ । पेट्रोलको पैसा जोगाएर जति सक्दो चाँडो गाडीको ऋण तिर्ने र आफ्नो बनाउने हो । त्यसपछि फाइदा लिन सकिन्छ ।

५५ किलोवाट भन्दा घटाएर ईभी ट्याक्सी ल्याउने, २०/३० लाख पर्ने हो भने धेरै ईभी ट्याक्सीमा जान सक्छन् । यो हुन त हुन्छ । तर त्यस समय ‘बेकारमा पहिले किनेछु’ भन्ने पछुतो हुँदैन । किनकि हामीले त्यस समयसम्म धेरै फाइदा पनि त गरिसकेका हुन्छौं । तर अहिले चार्जिङ स्टेसनको अभाव हुँदा मनमा भने चिसो हुन्छ । त्यस्तै ट्याक्सीको प्रकार अनुसार फरक-फरक भाडाको व्यवस्था भए राम्रो हुन्थ्यो । 

यो ट्याक्सीबाट यात्रुलाई नवबुद्ध, नगरकोटसम्म लिएर गएको छु । ती काठमाडौंबाट सबैभन्दा टाढा गएको ठाउँ हुन् । तर ती दुवैमा जाँदा मलाई कहिल्यै पनि एस मोडमा लानु परेन । उकालोमा जान नसके, राजमार्गमा गाडी ओभर ट्याक गर्नु परे यो मोडमा लगिन्छ । 

सुरुमा रेञ्जबारे केही अलमल थियो । अहिले बानी भइसकेँ । एसी नचलाई कुदाउँदा ट्याक्सीले करिब २०० किलोमिटर रेञ्ज दिन्छ । चलाउँदा भने १७० किलोमिटर जति रेञ्ज दिन्छ ।  तर कुदाउने कुराले रेञ्जमा फरक पार्दो रहेछ । अहिले एक प्रतिशतले साढे दुई किलोमिटर जति ट्याक्सी गुडिरहेको छ ।

पछिल्लो अध्यावधिक: असार २९, २०८० ९:२२