close

१३ विधामा आईसीटी अवार्डको नोमिनेसन खुला

टेकपाना टेकपाना

साउन १, २०८० १३:८

१३ विधामा आईसीटी अवार्डको नोमिनेसन खुला

काठमाडौं । आठौं संस्करणकाे आईसीटी अवार्डका लागि अनलाइन नाेमिनेसन खुला भएकाे छ । लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आएको आईसीटी अवार्डमा यस वर्ष थप एक विधा​सहित १३ विधामा नोमिनेसन खुला गरिएकाे हाे । 

प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड यस वर्ष थप गरिएको विधा हो भने गत वर्षदेखि दक्षिण एसियाली देशहरूका स्टार्टअपलाई लक्षित गरेर साउथ एसिया आईसीटी अवार्ड पनि सञ्चालनमा रहेको छ ।

यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’ पनि सुरु गरेको छ । यीबाहेक यस वर्ष स्टार्टअप तथा इनाेभेसन अन्तगर्त स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार एन्ड इनाेभेसन आईसीटी अवार्ड २०२३ विधा रहेका छन् ।

व्यक्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डहरूमा प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड, पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर्स आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र नेपाली डायस्पोरा आईसीटी अवार्ड २०२३ को लागि पनि नोमिनेसन खुला गरिएको छ ।

संस्थागत विधाहरूमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२३ विधाहरू रहेका छन् ।

यसैगरी साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड र प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसनमा पनि नोमिनेसन खुला गरिएको छ । यी सम्पूर्ण विधाहरूमा आईसीटी अवार्डकाे आधिकारिक वेबसाइटमार्फत अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

आफू स्वयं वा अन्य कोहीले सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाको सम्पूर्ण विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिनेछ । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति साउन ३१ गतेसम्म रहेको आयोजकले जानकारी दिएको छ ।

आईसीटी अवार्डको छनाेट प्रक्रिया नेपालमा हुने अवार्डमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ । भदौदेखि सञ्चालन हुने अवार्डको छनाेट प्रक्रियाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरू सञ्चालन हुनेछन् ।

सातै प्रदेशमा गएर आयोजकले स्थानीय स्टार्टअपहरू खोज्दै हरेक प्रदेशका उत्कृष्ट ५ स्टार्टअप तथा आइडियाहरूलाई काठमाडौंमा बुटक्याम्प र मेन्टरिङ सेसनहरू पनि सञ्चालन गर्नेछ ।

यसैगरी एकमहिनासम्म पब्लिक भोटिङ पनि सञ्चालनमा रहनेछ । सातै प्रदेश र काठमाडौंमा प्रि-इभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट पनि सञ्चालन गरिने अध्यक्ष राजन लम्सालले बताए ।

जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिसहित १४ जना विज्ञ रहेका छन् भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यक्तिहरू रहेका छन् । साउथ एसिया स्टार्टअप अवार्ड २०२३ मा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका देशहरूबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रक्रिया सञ्चालन गरिने जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । यस विधामा उत्कृष्ट १० प्रतिस्पर्धीलाई ग्राण्ड फिनालेमा सहभागी हुन नेपाल आउनेछन् ।

यी हुन् आईसीटी अवार्ड २०२३ का १३ विधा

स्टार्टअप आईसीटी अवार्ड

आईटी प्रडक्ट, सर्भिस तथा इनाेभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।

प्रडक्ट आईसीटी अवार्ड

आईसीटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आईटी तथा इनाेभेटिभ प्रडक्टलाई नोमिनेसन दर्ता गराउन सकिनेछ । वि.स २०७९ सालमा सार्वजनिक भएका आईटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेसन दर्ता गर्न सकिन्छ ।

राइजिङ स्टार एण्ड इनाेभेसन आईसीटी अवार्ड

राइजिङ स्टार इनाेभेसन आईसीटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्षमुनिका युवाहरूको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इनाेभेसन तथा प्रडक्टहरूलाई लिएर नोमिनेसन दर्ता गर्न सकिनेछ ।

प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड

यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड विधामा आईसीटी क्षेत्रसँग सम्वन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा आईसीटी प्रोफेसनलहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

पायोनियर आईसीटी अवार्ड

यो अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । यस विधामा नोमिनेसन दर्ता गर्न यस क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्दछ ।

नेपाली डायस्पोरा आईसीटी अवार्ड

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आईसीटीको माध्यमबाट देश र यस क्षेत्रमा दिएको योगदानको आधारमा यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ ।

आन्टरप्रेनर आईसीटी अवार्ड

आन्टरप्रेनर आईसीटी अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । नोमिनेसनको लागि आईसीटी उद्यमीको रुपमा कम्तीमा सात वर्षको अनुभव आवश्यक रहेको छ ।

वुमन आइकन आईसीटी अवार्ड

वुमन आइकन आईसीटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आईसीटीको क्षेत्रमा उदाहरणीय काम गरेका महिलाले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

डिजिटल एजुकेसन आईसीटी अवार्ड (पल्लिक सेक्टर)

डिजिटल एजुकेसन आईसीटी अवार्ड, आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन ।

डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर)

डिजिटल एजुकेसन आईसीटी अवार्ड आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका निजी शैक्षिक संस्थाले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

डिजिटल गभर्नेन्स आईसीटी अवार्ड

यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटाइज गर्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी संस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

डिजिटल सर्भिसेस आईसीटी अवार्ड

यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइनमार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् । यस विधामा आईटी तथा सफ्टवेयर कम्पनीबाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीले सहभागिता जनाउन सक्नेछन् ।

साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड

यस विधामा दक्षिण एसियाली देशहरू भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपले सहभागिता जनाउन सक्नेछन् । पाँच वर्षसम्मका स्टार्टअपले यस विधामा नोमिनेसन दर्ता गर्नसक्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: साउन १, २०८० १३:२३