close

चैतसम्म कपर केबल विस्थापन गर्ने टेलिकमको योजना, धमाधम अप्टिकल फाइबरमा स्तरोन्नति हुँदै

टेकपाना टेकपाना

साउन २, २०८० १३:५२

चैतसम्म कपर केबल विस्थापन गर्ने टेलिकमको योजना, धमाधम अप्टिकल फाइबरमा स्तरोन्नति हुँदै

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आउँदो चैत महिनासम्म देशैभर कपर केबल विस्थापन गर्ने योजना ल्याएको छ । फाइबर प्रविधिमार्फत टेलिफोन, इन्टरनेट तथा आईपीटिभी सेवा दिने उद्देश्यसहित कम्पनीले तामाको तारवाला पुरानो प्रविधि हटाउन लागेको हो ।

यसअन्तर्गत देशका विभिन्न ठाउँका टेलिकमका एक्सचेन्जहरूलाई फाइबर अप्टिक्समा स्तरोन्नति गरिसकिएको र बाँकी एक्सचेन्जलाई पनि स्तरोन्नति गरिने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

टेलिकमले हालसालै बागमती प्रदेश अन्तर्गत बबरमहल एक्सचेन्जलाई पुरानो ई१०बी स्वीच प्रणालीबाट अप्टिकल फाइबरमा स्तरोन्नति गरेको थियो । त्यसअघि दूरसञ्चार कार्यालय हात्तिगौंडा र भरतपुरमा तामाको तारवाला प्रविधिलाई फाइबरबाट विस्थापन गरिएको थियाे । पाटन कार्यालयमा पनि ९० प्रतिशत माइग्रेसनको काम सकिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

त्यस्तै धादिङ, बनेपा, नेपालगञ्ज, बुटवल, भैरहवा, लाहान लगायतका देशका विभिन्न ठाउँमा रहेका पुराना एक्सचेन्ज पूर्ण रूपमा बन्द गरिएको उनले जानकारी दिए ।

एउटै केबलबाट एचडी क्वालिटीको आवाज, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्राप्त गर्न सकिने एफटीटीएच प्रविधिलाई देशैभर पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनेगरी काम भइरहेकाे उनले बताए ।

''२०-३० वर्षदेखि सञ्चालनमा रहेका पुराना एक्सचेन्जका लागि अब बजारमा स्पेयरहरू (पाटपूर्जा) पाउनै छोडिसक्यो । ग्राहकलाई नयाँ प्रविधिअनुसार सेवा दिन देशभर फाइबर प्रविधि विस्तार गर्दैछौँ । ०८० सालकाे चैतसम्म हामीले देशका सबै एक्सचेन्ज पूर्ण रूपमा फाइबर अप्टिक्समा स्तराेन्नति गर्ने याेजना ल्याएका छाैँ,'' उनले भने ।

पछिल्लो अध्यावधिक: साउन २, २०८० १४:७