काठमाडौं । एप्पलको पहिलो पुस्ताको आईफोन एक लाख ४५ हजार पाउन्ड (करिब अढाई करोड रुपैयाँ) मा बिक्री भएको छ । एप्पलको पहिलो फोन निर्माण गर्ने इन्जिनियरिङ टिमका एक सदस्यले सङ्ग्रह गरेर राखेको आईफोन एलसीजी अक्सनमा कीर्तिमानी मूल्यमा बिक्री गरेका हुन् ।
सन् २००७ मा सार्वजनिक भएको पहिलो पुस्ताको सो आईफोन बक्सभित्रै भएको अवस्था (अनबक्सिङ नगरिएको) मा थियो । १६ वर्षअघि सार्वजनिक भएको उक्त फोन अनबक्स नगरिएको अवस्थामा बिरलै पाइने भन्दै अक्सनमा राखिएको थियो ।
सुरुवाती मूल्य ४५७ पाउन्ड पर्ने सो फोन ३०० गुणा बढी मूल्यमा बिक्री भएको हो । उक्त आईफोनको स्टोरेज अहिलेको ३.५ इन्च स्क्रिन भएको एप्पल वाचभन्दा पनि थोरै थियो । ४ जीबी स्टोरेज भएको सो फोन एप्पलका संस्थापक एवं तत्कालीन सीईओ स्टिभ जब्सले सार्वजनिक गरेका थिए ।
स्मार्टफोनको क्षेत्रमा पहिलो पुस्ताको आईफोन क्रान्तिकारी फोन सावित भए पनि सोचेजस्तो बिक्री नहुँदा दुई महिनामै फोनको उत्पादन बन्द गरिएको थियो । यो मोडेलको फोन धेरै उत्पादन नगरिएकाले अहिले आईफोनको पहिलो पुस्ताको फोनको सङ्ख्या निकै कम छ । त्यसैले फोनको सङ्ख्या कम भएकाले त्यसको महत्त्व धेरै भएको विश्लेषकहरू बताउँछन् । त्यही समयमा एप्पलले ८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको आईफोन पनि सार्वजनिक गरेको थियो ।
करिब १०० डलर थप्दा दाेब्बर स्टोरेजको आईफोन खरिद गर्न सकिने भएपछि ४ जीबी स्टोरेज भेरियन्टको आईफोन ओझेलमा परेको थियो । एलसीजी अक्सनमा लिलामीमा राखिएको सो आईफोनको सुरुवाती मूल्य सात हजार ६०० पाउन्डबाट सुरु भएको थियो ।
बढीमा ५० हजारदेखि एक लाख डलरसम्म मूल्य पुग्ने अपेक्षा गरिएको सो फोन २८औं बोलकबोलमा करिब एक लाख ९० हजार डलर (एक लाख ४५ हजार पाउन्ड)सम्म पुगेको थियो । त्यही मूल्य नै अन्तिम मूल्य बन्यो र आईफोनले त्यसअघि राखेका सम्पूर्ण रेकर्ड ताेडियाे । एलसीजी अक्सनले उक्त फोन निकै दुर्लभ भएको उल्लेख गरेको थियो ।
त्यसमा पनि फ्याक्ट्री सिल, पहिलो पटक सार्वजनिक भएको ४ जीबी स्टोरेज भेरियन्ट भएकाले सो फोनले महत्त्व पाएको हो । उक्त आईफोन बिक्री गर्ने व्यक्तिले आफू त्यस बेला पहिलो आईफोन निर्माण गर्ने इन्जिनियरिङ टिममा रहेको बताएका छन् ।