close

यस्तो छ २ करोड ३० लाख रुपैयाँ पर्ने बीएमडब्लूको बिजुली कार

टेकपाना टेकपाना

साउन २, २०८० १६:३७

यस्तो छ २ करोड ३० लाख रुपैयाँ पर्ने बीएमडब्लूको बिजुली कार

काठमाडौं । बहुप्रतिष्ठित सवारी निर्माता कम्पनी बीएमडब्लूले आफ्नो विद्युतीय गाडी (फुल्ली इलेक्ट्रिक एसएभी) 'आईएक्स थ्री' (IX3) नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि बीएमडब्लूको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले इलेक्ट्रिक मोडेलको आईएक्स थ्री सार्वजनिक गरेको हो ।

प्रिमियम लुक र फिचर भएको कार निर्माण गर्ने कम्पनीका रूपमा परिचित बीएमडब्लूले इलेक्ट्रिक एसएभी (स्पाेर्ट एक्टिभिटी भेहिकल)लाई पनि उत्तिकै प्रिमियम बनाएको छ । प्रिमियम लुक्स र फिचर बाहेक सुरक्षा तथा रेञ्ज पनि उत्कृष्ट विशेषता भएको कम्पनीको भनाइ छ ।

१७९ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडीमा ८० किलोवाट आवरको ब्याट्री रहेको छ । यसले सिङ्गल चार्जमा ४६० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।

ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्न सकिने छ । गाडीमा २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर समावेश गरिएको छ ।

कम्पनीले यसमा ५.० ई-ड्राइभ प्रविधि प्रयोग गरेको छ । ई-ड्राइभ प्रविधि एउटा त्यस्तो प्रणाली हो, जसले हाई भोल्टेजको लिथियम आयन ब्याट्री , इलेक्ट्रिक मोटर र इन्टेलिजेन्ट इनर्जी मेनेजमेन्ट सिस्टमलाई एक आपसमा जोडेर दिगो रूपमा सवारी चलाउने सुविधा दिन्छ ।

यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्युटन मिटर रहेको छ । यात्रालाई रमणिय बनाउन म्युजिकका लागि यसमा १६ ओटा स्पीकर प्रयोग गरिएको छ । हर्मोन कार्डनको साउन्ड सिस्टम भएकाले यसमा म्युजिकको उत्कृष्ट अनुभव लिन सकिन्छ ।

यसमा पानारोमीक ग्लास रुफको प्रयोग गरिएको छ, जसले गर्दा दिन र रातको समयमा खुल्ला आकाशको सिन हेर्न सकिन्छ । यही विशेषताले पनि कारलाई थप लक्जरी बनाएको कम्पनीकाे भनाइ छ ।

गाडीको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लस्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर ‍र्‍याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बियन्ट लाइटको कारण क्याबिनले निकै प्रिमियम फिल गराउँछ । यसमा स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० इन्चको एरोडायनामीक ह्वील पाउन सकिन्छ ।

कम्पनीले इलेक्ट्रिक बीएमडब्लू आईएक्स थ्रीको मूल्य दुई करोड २९ लाख ९६ हजार रुपैयाँ तोकेको छ । तीनकुने काठमाडौंमा रहेको लक्ष्मी प्रिमियम मोटर्सको स्वरुमबाट खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन २, २०८० १८:१२