close

एआईले खतरा निम्त्याउने भन्दै राष्ट्र संघको सुरक्षा परिषदमा उठ्यो नियमनको माग

टेकपाना टेकपाना

साउन ३, २०८० १५:५६

एआईले खतरा निम्त्याउने भन्दै राष्ट्र संघको सुरक्षा परिषदमा उठ्यो नियमनको माग

 

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट उत्पन्न हुनसक्ने जोखिमलाई लिएर संयुक्त राष्ट्र संघमा संयुक्त पहिलाे पटक छलफल भएको छ । राष्ट्र संघ अन्तर्गतको सुरक्षा परिषद्काे मंगलबार बसेकाे बैठकमा यसबारे छलफल भएकाे हाे ।

परिषद्का सदस्य राष्ट्रहरूले एआईलाई नियमन गर्नुपर्न धारणा प्रस्तुत गरेका थिए । छलफलमा चिनियाँ प्रतिनिधिले एआई उद्योगलाई बेलगाम घोडा जस्तो छोड्न नहुने तर्क राखेको थियो भने अमेरिकी प्रतिनिधिले एआईले मानिसको जीवनलाई प्रभाव पार्नसक्ने भन्दै यस विषयमा गम्भीर हुन चेतावनी दिएका थिए ।

त्यस्तै बेलायतका विदेशसचिव जेम्स क्लेभर्लिले एआईले मानिसको जीवनको हरेक पक्षलाई प्रभाव पार्न सक्ने अभिव्यक्ति दिएकाे राेयटर्सले जनाएकाे छ । यसकारण एआई क्षेत्रलाई नियमन र अनुगमन गर्न अत्यावश्यक भएको र यसको लागि विश्वव्यापी रुपमा काम गर्नुपर्ने उनले बताएका थिए ।

एआईले विश्वलाई जलवायु परिवर्तनदेखि अन्य कामहरूमा सघाउने भएपनि यसले मिथ्या सूचना फैलाई मानिसहरूलाई हतियार समेत उठाउन प्रेरित गर्न सक्ने जेम्सकाे तर्क थियाे ।

छलफलमा राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले सैन्य तथा गैरसैन्य क्षेत्रमा एआईको प्रयोगले विश्वव्यापी शान्ति र सुरक्षामाथि गम्भीर प्रभाव पार्न सक्ने बताए ।

साथै एआई क्षेत्रलाई मात्रै लक्षित गरी एउटा छुट्टै निकाय खडा गर्नुपर्ने पनि एन्टोनियोकाे राय थियाे । रूसका प्रतिनिधिले भने सम्बन्धित निकायहरूले यो क्षेत्रलाई नियमन गर्नका लागि काम गरिरहेको कारण  काउन्सिलले यस विषयमा छलफल गर्नु कुनै आवश्यकता नै नरहेको भनाइ राखेका थिए ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८० १५:५६