close

सांसद रायमाझीको प्रश्न- सय किलो सुन निक्लिँदा डिटेक्टर किन कराएन ?

टेकपाना टेकपाना

साउन ४, २०८० १६:५२

सांसद रायमाझीको प्रश्न- सय किलो सुन निक्लिँदा डिटेक्टर किन कराएन ?

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले भन्सार कार्यालयमा प्रयोग हुने डिटेक्टरमाथि प्रश्न उठाएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझी आफूले घडी खोलेर कोटमा हालेको बेला पनि कराउने डिटेक्टर सय किलो सुन भित्रिँदा किन कराएन भनेर प्रश्न गरेका हुन् ।  

बुधबार त्रिभुवन विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

“कुख्यात अपराधी चार्ल्स शाेभराजलाई त्रिभुवन भन्सार कार्यालयबाट तिमी कसरी छिर्‍यौं भन्दा ‘तिम्रोमा त सिङ्गो हात्ती छिराइदिन्छु’ भनेको कुराको मलाई स्मरण भयो,” रायमाझीले भने, “सय किलो सुन निस्किन्छ । ३३ किलो सुन निक्लेको चर्चा हामीले सेलाउन नपाउँदै आज सयौं किलो निस्केको खबर आयो । एक पटक होइन २२ पटक त्यस्तो प्रक्रिया भयो भनेर आइरहेको छ ।”

यतिका ठूलो परिमाणमा सुन भित्रिँदा भन्सार कार्यालयका कर्मचारी र सुरक्षामा खटिएका प्रहरी मिलेको रायमाझीले आशंका गरे । “हामीले एउटा मोबाइल, हामीले लगाइरहेको घडी खोलेर कोटको गोजीमा हालेर मसिनबाट छिर्दा डिटेक्टर कराउँछ । आज सय किलो सुन निक्लिँदाखेरी डिटेक्टर किन कराएन,” उनले प्रश्न गरे । 

उनले अगाडि भने, “हामी विराटनगर जाँदाखेरि पनि डिटेक्टरले हाम्रो शरीरमा केही करायो भने त्यहाँ खटिएको मान्छेले के छ माननीय ज्यू भनेर सोध्छ । पुलिसले यो छ भनेपछि जानुस् भन्छ । आज सय किलो सुन निस्किँदाखेरी हामी लापत्ता छौं ? हामी बेपत्ता छौं ।”

पछिल्लो अध्यावधिक: साउन ४, २०८० १६:५८