close

हेडक्वार्टरको बोर्डबाट ट्वीटरको नाम र लोगो हटाउँदा पुलिस आएपछि...

टेकपाना टेकपाना

साउन ९, २०८० ११:४१

हेडक्वार्टरको बोर्डबाट ट्वीटरको नाम र लोगो हटाउँदा पुलिस आएपछि...

काठमाडौं । एलन मस्कले सोमबार औपचारिक रूपमा ट्वीटरलाई एक्समा रिब्रान्ड गरेको घोषणा गरे । त्यही अनुरुप ट्वीटरको नाम र लोगो परिवर्तन भयो । सोमबारदेखि नै वेबमा ट्वीटरको नयाँ लोगो लाइभ भएकाे छ । मोबाइल एपमा भने नयाँ लोगो आउन बाँकी छ ।

यद्यपि सबै ठाउँबाट ट्वीटर शब्द हटिसकेको छैन । यससँगै सोमबार साँझ सान फ्रान्सिस्कोस्थित १३५५ स्ट्रिटमा रहेको ट्वीटरको मुख्यालयको बोर्डबाट ट्वीटरको चरा र ट्वीटर लेखिएको बोर्ड हटाउने काम भइरहेको थियो । आधा काम भइसकेपछि सान फ्रान्सिस्को प्रहरी विभागबाट खटिएको विशेष टोलीले एक्कासि ट्वीटरको बोर्ड हटाउने रोक्यो । यसको मुख्य कारण थियो, ट्वीटरको लोगो हटाउनका लागि प्रयोग गरिएको ठूलो क्रेन ।

लोगो हटाउनका लागि कम्पनीले प्रयोग गरेको क्रेनले सार्वजनिक बाटोको ठाउँ ओगटेको र त्यसका लागि कम्पनीले प्रहरीबाट अनुमति नलिएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसरी अनुमति नलिएर बाटोमा क्रेन ठड्याउँदा त्यसले बाटो ब्लक गरेको र त्यसरी बाटो ब्लक हुँदा ट्राफिक समस्या आएको बताइएको छ ।

प्रहरी आइसकेपछि उक्त क्रेन त्यहाँबाट हटाइएको थियो । अहिले ट्वीटरको मुख्यालयमा पुरानो लोगोको केही भाग मात्र बाँकी छ । ट्वीटरका कर्मचारीलाई कम्पनीको लोगो हटाउन क्रेन आउँदैछ भन्ने कुरा पनि थाहा थिएन ।

एक्कासि बाहिर लिफ्ट सहितको ठूलो क्रेन आएर लोगो हटाउन थालेपछि सबैले त्यस घटनाबारे थाहा पाएका हुन् । ट्वीटर शब्द र चराको लोगोको ठाउँमा नयाँ लोगो सहितको होल्डिङ राख्ने कम्पनीको तयारी छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १२:११