close

त्रिविमा इन्जिनियरिङ पढ्न अब करिब ८ लाख शुल्क लाग्ने

टेकपाना टेकपाना

साउन १२, २०८० १४:०

त्रिविमा इन्जिनियरिङ पढ्न अब करिब ८ लाख शुल्क लाग्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले इन्जिनियरिङ कार्यक्रमहरूको पाठ्यक्रम र शुल्क परिमार्जन गर्ने भएको छ । यसै शैक्षिक वर्षदेखि लागू हुने गरी परिमार्जनकाे तयारी भइरहेको संस्थानका डीन प्राडा. शशीधर राम जोशीले जानकारी दिए ।

उनका अनुसार हाल स्नातक तहमा लिइरहेको तीन लाख ५० हजार रुपैयाँ शुल्क बढाएर सात लाख ७० हजार पुर्‍याइने छ । हाल लिइरहेको शुल्क २०५३ सालमा तोकिनुका साथै प्रत्येक वर्ष १० प्रतिशतका दरले बढाउने निर्णय भएको थियो ।

यद्यपि हालसम्म त्यही शुल्कमा इन्जिनियरिङ पाठ्यक्रम सञ्चालन भइरहेकाे थियाे । तर त्रिविले सहयोग नगर्ने र हालको शुल्कबाट क्याम्पस चलाउनै नसकिने अवस्था आएपछि बढाउनुपरेको डीन प्राडा. जोशीले बताए ।

“विगत एक वर्षदेखि नै शुल्क बढाउने विषयमा काम गरिरहेका थियौं । शुल्क बढाउनेबारे विद्यार्थी, शिक्षक, कर्मचारी लगायत सबैसँग छलफल गरेका छौँ,” उनले भने, “ अध्ययन समिति गठन गरेर रिपोर्ट आइसकेको छ । अब कार्यान्वयन समितिबाट रिपोर्ट पास भएपछि त्यो लागू हुन्छ ।”

शुल्क परिमार्जन गर्न आईओईले सुशील बज्राचार्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले तयार पारेको रिपोर्टको आधारमा शुल्क बढाउन लागिएको हो । साथै आउँदो वर्षहरूमा कति प्रतिशतले सो शुल्क बढाउने भनेर निर्णय भने भइनसकेको उनको भनाइ छ ।

त्यस्तै हाल सञ्चालनमा रहेका विभिन्न इन्जिनियरिङ विषयहरूका परिमार्जित पाठ्यक्रम पनि आईओईले यसै नयाँ शैक्षिक सत्रबाट लागू गर्ने तयारी गरेको छ ।

परिमार्जित पाठ्यक्रममा अनिवार्य इन्टर्नशिप, बजारमुखी र व्यवहारिक विषयहरू राखिने डीन प्राडा. जोशीले बताए । त्यसले आईओईको शैक्षिक प्रणालीलाई अझ अन्तर्राष्ट्रिय स्तरको बनाउने उनले विश्वास व्यक्त गरे ।

यद्यपि परिमार्जित पाठ्यक्रम र शुल्क नयाँ भर्ना हुन आउनेहरूलाई मात्र लागू हुनेछ । हाल आईओई अन्तर्गत पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पस गरी पाँच आङ्गिक क्याम्प्स छन् । त्यस्तै सम्बन्धनप्राप्त १० ओटा निजी कलेज छन् ।

यी शैक्षिक संस्थाहरूले स्नातक तह र स्नातकोत्तर तहमा कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ लगायतका विषय सञ्चालन गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १४:१६