close

टेक्स्ट जस्तै अब ह्वाट्सएपमा भिडिओ मेसेज पनि पठाउन सकिने

टेकपाना टेकपाना

साउन १२, २०८० १८:१६

टेक्स्ट जस्तै अब ह्वाट्सएपमा भिडिओ मेसेज पनि पठाउन सकिने

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले भिडिओ मेसेज पठाउन सकिने फिचर ल्याउने भएको छ । कम्पनीले बिहीबार एक ट्वीट गर्दै आगामी साता भ्वाइस मेसेज जस्तै भिडिओ मेसेज पठाउन सकिने फिचर सार्वजनिक गर्न लागेको घोषणा गरेको हो ।

जसरी कुनै पनि मेसेजको रिप्लाई भ्वाइस वा टेक्स्टबाट पठाउन सकिन्छ, त्यसरी नै प्रयोगकर्ताले अब छिट्टै भिडिओ मेसेज पठाउन पाउन पाउने भएका छन् । अहिले केही बेटा टेस्टरमाझ उपलब्ध ह्वाट्सएपकाे नयाँ फिचर आगामी साता सर्वसाधारणका लागि उपलब्ध हुने कम्पनीले उल्लेख गरेकाे छ । 

उक्त फिचर उपलब्ध भएपछि एक पटकमा ६० सेकेन्डको भिडिओ मेसेज पठाउन सकिने छ । यसका लागि ह्वाट्सएपको एपमै हुने क्यामेराले प्रयोगकर्ताको भिडिओ खिच्नेछ । त्यसपछि प्रयोगकर्ताले तत्कालै उक्त भिडिओ अन्य प्रयोगकर्तालाई पठाउन सक्नेछन् । 

ह्वाट्सएपमा भिडिओ मेसेज कसरी पठाउने ? 

सीमित प्रयोगकर्तामाझ मात्र उपलब्ध याे फिचर आगामी साता कम्पनीले सम्पूर्ण प्रयोगकर्ताका लागि उपलब्ध गराउने छ । इन्स्ट्यान्ट भिडिओ मेसेज फिचर उपलब्ध भइसकेपछि तलको प्रक्रिया अपनाएर उक्त फिचर प्रयोग गर्न सक्नुहुन्छ । 

- सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् । 

- त्यसपछि आफूले भिडिओ मेसेज पठाउन चाहेको व्यक्तिको च्याट खोल्नुहोस् । 

- अनि मेसेज बक्सको छेउमा देखिने भिडिओको आइकनमा ट्याप गरेर होल्ड गर्नुहोस् । वा, माथि सारेर भिडिओ लक पनि गर्न सक्नुहुन्छ । 

- त्यसपछि आफूले भिडिओ मेसेज मार्फत पठाउन चाहेको सन्देश रेकर्ड गर्नुहोस् । र, सेन्ड गर्नुहोस् ।

ह्वाट्सएपका अनुसार भिडिओ मेसेज पनि इन्ड टु इन्ड इन्क्रिप्टेड हुनेछ । त्यसबाहेक पनि भिडिओमा इमोजी पठाउन र रिप्लाई गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १८:१६