काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाडौँसम्म बिजुली गाडी सञ्चालनमा आएको छ । गत साउन ८ गतेदेखि सिन्धु चौतारा यातायातले यसको सुरुवात गरेको हो ।
कम्पनीले पहिलो चरणमा सीजी माेटर्सको केवाईसी माइक्रोबस सञ्चालन गर्दै विद्युतीय यातायात सेवा सुरु गरेको हो । कम्पनीका सञ्चालक निमेष श्रेष्ठका अनुसार हाल दुई ओटा १० सिटे गाडीले रुट स्वीकृति पाएका छन् । यसअन्तर्गत एउटा गाडी चाैतारादेखि काठमाडाैं र अर्काे गाडी काठमाडाैंदेखि चाैतारा रुटमा गरी दुई-दुई पटक ओहोरदोहोर गर्छन् ।
याे रूटमा साढे दुई घण्टामा गन्तव्यमा पुगिने र भाडा प्रति यात्रु ४०० रुपैयाँ तोकिएको छ । सीसीटीभी जडित गाडीमा यात्रुले वाई-फाई, क्यूआर भुक्तानी लगायतका सुविधा पाउनेछन् ।
गाडीले औसतमा २१० किलोमिटरसम्मको रेञ्ज दिइरहेको सञ्चालक श्रेष्ठले सुनाए । यसले गर्दा एउटा गाडीलाई एकपटक ओहोरदोहोर गर्न पर्याप्त भएको उनको भनाइ छ ।
कम्पनीले चौतारामा चार्जिङ स्टेसन नभएर हाल काठमाडौंमा नै ब्याट्री चार्ज गरिरहेकाे छ । चाँडै नै चौतारीमा पनि चार्जिङ स्टेसन निर्माण गर्ने र थप बिजुली गाडी थपी व्यावसायिक रूपमा यातायात सेवा दिने याेजना रहेकाे उनले सुनाए ।