काठमाडौं । नेपालका कूल आईटी फ्रिलान्सरमध्ये ७९.१ प्रतिशत अविवाहित रहेको पाइएको छ । सोमबार इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो ।
सर्वेक्षणबाट नेपालमा ६६ हजार बढी आईटी फ्रिलान्सर रहेको खुलेको छ । ३८९ जनामा गरिएको स्थलगत सर्वेक्षणमा ७९.१ प्रतिशतले आफ्नो बिहे नभएको जवाफ दिएका थिए ।
त्यस्तै सर्वेक्षण गरिएका फ्रिलान्सरमध्ये ४८.८ प्रतिशत २५ देखि २९ वर्ष उमेर समूहको रहेको पाइएको थियो । ३४.७ प्रतिशत फ्रिलान्सर २० देखि २४ वर्ष उमेर समूहका रहेका छन् । यसबाट पनि आईटीजन्य सेवाहरू निर्यात गर्ने कार्यमा युवाहरू सक्रिय भएको देखिन्छ ।
उक्त सर्वेक्षणबाट ७९.५ प्रतिशत फ्रिलान्सरले ब्याचलर डिग्री र १२.५ प्रतिशतले मास्टर डिग्री हासिल गरेको पाइएकाे छ । त्यस्तै ६.४ प्रतिशत फ्रिलान्सरले प्लस टु तथा उच्च माध्यमिक तह उत्तीर्ण गरेका छन् । र, ०.७ प्रतिशतले प्राविधिक तालिम लिएर फ्रिलान्सिङ गरिरहेका छन् ।
यसैगरी ६४.७ प्रतिशत फ्रिलान्सरले आईटीसम्बन्धी शिक्षा हासिल गरेका छन्, ३५.३ प्रतिशत आईटी पृष्ठभूमि बाहिरका छन् । उनीहरूले तालिम लिएर फ्रिलान्सिङ गरिरहेको सर्वेक्षणबाट खुलेको छ ।
फ्रिलान्सिङ गरिरहेकामध्ये ९३.७ प्रतिशतले नेपालमै आफ्नो अध्ययन पूरा गरेका छन् । त्यसैमा पनि ६४.७ प्रतिशतले अतिरिक्त आईटी सम्बन्धी तालिम लिएका छन् भने ३५.३ प्रतिशत फ्रिलान्सर स्वअध्ययनबाटै आफ्नो क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेका छन् ।