close

युट्युब भिडिओमा भएका कुराको सारांश अब एआईले तयार पारिदिने !

टेकपाना टेकपाना

साउन १७, २०८० १३:२९

युट्युब भिडिओमा भएका कुराको सारांश अब एआईले तयार पारिदिने !

काठमाडौं । गुगलले युट्युबका लामा भिडिओको सारांश एआईले नै उपलब्ध गराउने फिचर ल्याउने भएकाे छ । एक ब्लग लेख्दै कम्पनीले भिडिओको सारांश एआईले नै तयार पार्ने फिचर परीक्षण गर्न थालेको जानकारी दिएको हो ।

याे फिचरको सहायताले प्रयोगकर्ताले कुनै पनि भिडिओ हेर्नुअघि उक्त भिडिओ आफूलाई उपयुक्त छ वा छैन छुट्याउन सक्नेछन् । यसो त क्रियटरले आफ्नो भिडिओको डिस्क्रिप्सन बक्समा आफ्नो भिडिओ के बारेमा छ भन्ने उल्लेख गर्न पाउँछन् ।

तर, युट्युबको सो फिचरले भिडिओमा के कुरा समावेश गरिएको छ भन्ने जानकारी सटीक रूपमा उपलब्ध गराउनेछ । अहिले यो फिचर केही सीमित क्रियटरको भिडिओमा मात्र उपलब्ध छ ।

इनग्याजेटलाई युट्युबका प्रवक्ताले भने अनुसार भिडिओको सारांश मोबाइल डिभाइसमा देखिनेछ । विशेषगरी शपिङ भिडिओ, भ्लग तथा बहस सम्बन्धी भिडिओमा सारांश देखिनेछ ।

युट्युबले एआईको सहायताले भिडिओको च्याप्टर छुट्याउने फिचर परीक्षण गरेको करिब तीन वर्षपछि नयाँ फिचर परीक्षण गर्न थालेको छ । सर्वसाधारणमाझ यो फिचर कहिले उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: साउन १७, २०८० १३:२९