close

अनलाइनबाट यसरी लिनुहोस् कुनै पनि पुस्तकको इन्टरनेसनल स्ट्यान्डर्ड बुक नम्बर

टेकपाना टेकपाना

साउन १७, २०८० १९:४४

अनलाइनबाट यसरी लिनुहोस् कुनै पनि पुस्तकको इन्टरनेसनल स्ट्यान्डर्ड बुक नम्बर

काठमाडौं । अब अनलाइनबाट कुनै पनि किताबको इन्टरनेसनल स्ट्यान्डर्ड बुक नम्बर (आईएसबीएन) लिन सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले आईएसबीएन व्यवस्थापन गर्ने सफ्टवेयरमा अपडेट गरेसँगै यो सम्भव भएको हो ।

कोरोना महामारीका बेला पुस्तकालयले यो सेवा अनलाइन गरेता पनि प्राविधिक समस्याका कारण बन्द भएको थियो । अब भने ती सबै समस्या समाधान गरेर अनलाइन सेवा पुन: सुरु गरेको पुस्तकालयका सूचना अधिकारी विजय शर्माले बताए ।

शर्माका अनुसार अब पुस्तकालयले बारकोड सहितको आईएसबीएन सम्बन्धित व्यक्तिको ईमेलमा पठाइदिने छ । यसले लेखक तथा प्रकाशकहरूलाई आईएसबीएन लिन पुस्तकालय धाउनुपर्ने समस्या हटेकाे छ ।

“पुस्तकको अन्तर्राष्ट्रिय मान्यता, मूल्यांकन र रेकर्डका लागि आईएसबीएन निकै महत्वपूर्ण हुन्छ,” त्रिवि केन्द्रीय पुस्तकालयका सूचना अधिकारी शर्माले भने, “पहिले पुस्तकालय आउनुपर्ने व्यवस्थाका कारण उपत्यका बाहिरका लेखक तथा प्रकाशकहरूले आईएसबीएन बिना नै पुस्तक प्रकाशन गर्नुभएको थियाे । अब भने अनलाइन सुविधा ल्याएका छाैँ ।”

सन् २००० देखि केन्द्रीय पुस्तकालयले आईएसबीएन एजेन्सीका रूपमा नेपालमा काम गर्दै आएको छ । हालसम्म पुस्तकालयले करिब ६२ हजार पुस्तकहरूलाई आईएसबीएन दिइसकेको शर्माले बताए । पुस्तक प्रकाशित भएपछि दुई प्रति त्रिवि पुस्तकालयलाई बुझाउनुपर्ने भएता पनि अहिलेसम्म करिब २८ हजार पुस्तक मात्र प्राप्त भएको उनले जनाए । 

अब किताब छापिनुपूर्व लेखक तथा प्रकाशकले अनलाइनबाटै आईएसबीएन लिन सक्नेछन् । तर यसका लागि पुस्तकालयको वेबसाइटमा अकाउन्ट बनाएको हुनुपर्ने छ ।

अनलाइनबाट आईएसबीएन लिन निम्न प्रक्रिया अपाउनुहोस्:

-यसका लागि त्रिवि केन्द्रीय पुस्तकालयको वेबसाइट वा यहाँ क्लिक गर्नुहोस् । त्यहाँ सबैभन्दा माथि बायाँ भागमा रहेको ‘आईएसबीएन’मा क्लिक गर्नुहोस् । अब तपाईं नयाँ पेजमा पुग्नुहुने छ ।

 

 

-त्यहाँ रजिष्टरमा क्लिक गर्नुहोस् । नयाँ पेजमा नाम, ईमेल, फोन, स्थान जस्ता विवरण हाल्ने ठाउँ आउँछ । साथै यसै पेजमा कसरी अनलाइनबाट आईएसबीएन लिने भनेर सिकाइएको भिडि‌‌ओ समेत राखिएको छ ।

 

 

- रजिष्टर पेजमा आवश्यक पर्ने सबै विवरण राख्नुहाेस् । तपाईंले प्रकाशकमा रूपमा अकाउन्ट बनाइरहनु भएको छ भने कम्पनी दर्ता गरेको प्रमाणपत्र तथा व्यक्तिगत हिसाबले बनाउन खोज्दै हुनुहुन्छ भने आफ्नो नागरिकताको प्रतिलिपिको फोटो अपलोड गर्नुपर्ने हुन्छ ।

-त्यही पेजमा आफ्नो युजरनेम र पासवर्ड राखी तल रहेको ‘क्रियट माई अकाउन्ट’मा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंलाई एउटा कन्फर्मेसन मेल आउँछ । त्यसमा क्लिक गरेलगत्तै तपाईंको अकाउन्ट बन्छ ।

- अब पुन: त्यही युजरनेम तथा पासवर्ड राखेर लगइन गर्नुहोस् । त्यहाँ तपाईँ नयाँ पेजमा पुग्नुहुनेछ । अब दायाँ भागमा रहेको आईएसबीएन एप्लिकेसन भन्ने सेक्सनमा जानुहोस् । त्यहाँ पुस्तकको शीर्षक, लेखकको नाम, प्रकाशकको नाम, पृष्ठसंख्या, मूल्य, सम्पर्क ठेगाना, फोन नम्बर लगायतका विभिन्न विवरण भर्नुहोस् ।

यदि त्यहाँ त्यहाँ प्रकाशकको विवरण भेट्नुभएन भने त्यसबारे उल्लेख गर्दै [email protected] मा मेल गर्नुपर्ने हुन्छ । त्यसको जानकारी तपाईंले ‘पब्लिसर्स’ भन्ने सेक्सनमा देख्नुहुनेछ ।

 

यसरी आईएसबीएन लिँदा त्रिवि पुस्तकालयले ३०० रुपैयाँ शुल्क लिन्छ । यो रकम भुक्तानी गरेको बैंक भौचर वा अनलाइन प्रमाण पनि त्यही प्रक्रियामा पठाउनु पर्ने हुन्छ । यसरी आवेदन दिएको एक दिनमै तपाईंले आईएसबीएन पाउनु हुनेछ ।

पछिल्लो अध्यावधिक: साउन १७, २०८० १९:४४