close

कृषि क्षेत्रमा लागे ज्याक मा, बजार अध्ययनका लागि आएका थिए नेपाल !

टेकपाना टेकपाना

साउन १९, २०८० १७:४०

कृषि क्षेत्रमा लागे ज्याक मा, बजार अध्ययनका लागि आएका थिए नेपाल !

काठमाडौं । चिनियाँ अर्बपति एवं ईकमर्स प्लेटफर्म अलिबाबाका संस्थापक ज्याक माले एग्रो टेक (कृषि प्रविधि) क्षेत्रमा हात बढाएका छन् । चीनमा रहेको ‘१.८ मिटर्स मेरिन टेक्नोलोजी को’ नामक स्टार्टअपमा लगानी गर्दै उनी याे क्षेत्रमा जोडिएका हुन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ज्याक माले उक्त स्टार्टअपकाे १० प्रतिशत शेयर लिएका छन् । हाल उक्त कम्पनीको बजारमूल्य एक करोड ५० लाख डलर रहेको छ । यो माछापालन तथा कृषिमा आबद्ध यस्तो स्टार्टअप हो, जसले पछिल्लो समय कृषि तथा खाद्यवस्तुमा विभिन्न किसिमका अध्ययन अनुसन्धान गरिरहेको छ । 

सार्वजनिक जीवनबाट तीन वर्षसम्म गायब ज्याक माले पछिल्लाे समय कुनै कम्पनीमा लगानी गरेका थिएनन् ।

२०२० मा चिनियाँ वित्तीय नियामकप्रति विवादास्पद अभिव्यक्ति दिएपछि उनी गायब भएका थिए । उक्त अभिव्यक्तिले उनको व्यवसायलाई ठूलो धक्का पर्‍यो । तीन वर्षसम्म गायब उनी पछिल्लो समय विभिन्न देशकाे भ्रमणमा निस्किए ।

ज्याक मा नेपाल भ्रमणमा पनि आएका थिए‍ । त्यही समयमा उनी कालिमाटीस्थित तरकारी मण्डी पुगे । उनी तरकारी मण्डीमा किन पुगे होलान् भन्ने धेरैको जिज्ञासा थियो । अहिले भने उनको भ्रमण आशय एग्रोटेक अध्ययन रहेको अनुमान गरिएकाे छ ।

उनी नेपालबाहेक नेदरल्यान्ड, जापान, थाइल्यान्ड, बंगलादेशजस्ता देश पुगेका थिए ।

सन् २०१९ मा अलिबाबाबाट अवकाश लिएका ज्याक माको कूल सम्पत्ति हाल ३० अर्ब डलर बढी रहेको बताइन्छ । कुनै समय चीनको सबैभन्दा धनी व्यक्तिमा पर्ने उनी अहिले शीर्ष पाँचौं स्थानमा छन् ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८० १८:५