close

अब आईटी कम्पनीले विदेशमा आफ्नो कार्यालय खोल्न सोझै रकम पठाउन सक्ने

टेकपाना टेकपाना

साउन २२, २०८० २१:५७

अब आईटी कम्पनीले विदेशमा आफ्नो कार्यालय खोल्न सोझै रकम पठाउन सक्ने

काठमाडौं । अब सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने कम्पनीले आफ्नो विदेश स्थित खातामा सोझै रकमान्तर गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै यस्तो सुविधा ल्याएको हो ।

नयाँ व्यवस्था अनुसार सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग व्यवसायलाई विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनका लागि विदेश स्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर, प्रोग्राम तथा उपकरण खरिद गरी विदेशमै जडान गर्न उद्योग व्यवसायले वाणिज्य बैंकमार्फत विदेशी मुद्राको सुविधा प्राप्त गर्न सक्नेछन् ।

यद्यपि यस्तो सुविधामा त्यस्ता उद्योग व्यवसायले अघिल्लो आर्थिक वर्ष आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सीमा राखिएको छ । साथै अघिल्लो आर्थिक वर्ष सूचना प्रविधि लगायतका सेवा निर्यात गरी आर्जन गरेको विदेशी मुद्रा खुल्ने लेखा परीक्षण गरिएको वित्तीय विवरण र परिवर्त्य विदेशी मुद्राको बैंक खाताको विवरण, भारतको हकमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने निर्यात कर्ताको हकमा नेपाली रुपैयाँ खाताको विवरण र सम्बन्धित बैंकले जारी गरेको भारु आर्जन सम्बन्धी प्रमाण पेश गर्नु पर्नेछ ।

यसैगरी विदेशी मुद्राको सुविधा माग गरिएको रकम समेत खुल्ने नेपाल सरकारको सम्बन्धित निकायको सिफारिस समेत शर्तको रुपमा राखिएको छ । तर यसका लागि विदेशमा खाता खोल्न राष्ट्र बैंकको छुट्टै स्वीकृति भने आवश्यक नपर्ने बताइएको छ ।

तर प्रचलित कानूनी व्यवस्थाहरू पालना हुने सम्बन्धमा स्वघोषणा भने गर्नुपर्नेछ । विदेशी मुद्राको सीमा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रमा उल्लिखित कर योग्य आयको २० प्रतिशतभन्दा बढी नहुने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८० ९:१७