close

पीएचडी विद्यार्थी र अनुसन्धानकर्मीलाई नोबेल पुरस्कार विजेतासँग अन्तर्क्रिया गर्ने अवसर

टेकपाना टेकपाना

साउन २३, २०८० १४:३३

पीएचडी विद्यार्थी र अनुसन्धानकर्मीलाई नोबेल पुरस्कार विजेतासँग अन्तर्क्रिया गर्ने अवसर

काठमाडौं । जापान सोसाइटी फर द प्रमोसन अफ साइन्स (जेएसपीएस) को आयोजनामा जापानको क्योटोमा १५औं होप बैठक सन् हुने भएको छ । नोबेल पुरस्कार विजेताहरूसँग अन्तर्क्रिया गर्न, अनुसन्धानका लागि प्लेटफर्म प्रदान गर्न तथा सहभागीहरूबीच सम्बन्ध स्थापित गर्न सघाउ पुर्‍याउने उद्देश्यसहित यो कार्यक्रम हुन लागेको हो ।

यसका लागि नेपाल जेएसपीएस अल्मुनाई एसोसिएसनले इच्छुक व्यक्तिहरूका लागि मनोनयन खुलाएको छ । नेपालबाट दुई जना योग्य उम्मेदवारले कार्यक्रममा सहभागी हुन पाउने एसोसिएसनले जनाएको छ ।

पछिल्लो पाँच वर्षभित्र पीएचडी प्राप्त गरेका विद्यार्थी तथा युवा अनुसन्धानकर्ताहरू यो कार्यक्रमका लागि आवेदन दिन योग्य हुने बताइएको छ । इच्छुक सहभागीहरूलाई अगस्ट २८, २०२३ भित्र आफ्नो आवेदन र सीभी [email protected] वा [email protected] मा बुझाउन आह्वान गरिएको छ ।

यसका लागि सम्बन्धित व्यक्तिको राम्रो शैक्षिक रेकर्ड, वैज्ञानिक ज्ञानको सामाजिक प्रभावमा गहिरो चासो र विज्ञान तथा अनुसन्धानमा संलग्न हुन उत्सुकता भएको हुनुपर्ने बताइएको छ ।

होप बैठकमा अघिल्लो पटक सहभागी भइसकेका व्यक्तिले आवेदन दिन पाउने छैनन् । त्यस्तै सक्रिय सहभागिताको लागि अंग्रेजीमा दक्ष हुन आवश्यक छ । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८० १४:३४