close

आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा तीन वर्षदेखि लाग्दैन एनसेलको फोन

टेकपाना टेकपाना

साउन २३, २०८० १८:२

आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा तीन वर्षदेखि लाग्दैन एनसेलको फोन

काठमाडौं । आत्महत्या तथा आत्म हानी रोकथामका लागि सञ्चालनमा ल्याइएको हेल्पलाइन नम्बर ११६६ मा एनसेलका नम्बरबाट कल गर्दा नलाग्ने समस्या रहेको पाइएको छ । विगत करिब तीन वर्षदेखि यो समस्या रहेको भए पनि भर्खरै मात्र यो विषय बाहिर आएको हो । 

“सुरुमा हेल्पलाइनको फोन उठेन भन्ने गुनासो आयो,” आत्महत्या रोकथाम हेल्पलाइन संयोजक पार्वती श्रेष्ठले टेकपानासँग भनिन्, “तर हामीले आउने सबै कलहरू उठाइरहेका हुन्थ्यौं । पछि बुझ्दा एनसेल प्रयोगकर्ताको फोन तर यता नदेखाउने समस्या रहेको देखियो । कल गर्दा व्यस्त रहेको टोन बजेको भए फोन लागेन भन्ने हुन्थ्यो । तर घण्टी भने जाने गरेको छ । त्यसरी एनसेलबाट आएका कल मिस कलमा पनि नदेखिने रहेछ ।” 

समस्या यकिन भइसकेपछि एनसेल नम्बरबाट हेल्पलाइनमा फोन नगर्न अनुरोध गरिएको उनले सुनाइन् । बाहिरबाट हेल्पलाइनको सम्पर्क नम्बर ११६६ भनिए पनि नेपाल टेलिकमले उक्त नम्बरमा आएका कल १६६००१-५६००० नम्बरमा डाइभर्ट गराएको छ । 

तर त्यसको जानकारी थाहा नहुँदा हेल्पलाइनमा फोन नलागेको एनसेलको दाबी छ । यस हिसाबले हेल्पलाइनको नम्बरमा एनसेल नेटवर्कको लिङ्क नै नरहेको देखिन्छ ।

इन्टरकनेक्सनका लागि टेलिकम कम्पनीहरूमा छुट्टै टिम हुने गरेको र एकअर्काको टिम सम्पर्कमै रहेर काम हुने गरेको नेपाल टेलिकमका सहायक प्रवक्ता परमात्मा भट्टराई बताउँछन् । “यस्तोमा डेस्टिनेसन नम्बर (हेल्पलाइनको हकमा १६६००१…) को विषय थाहा नहुने भन्ने हुँदैन ।” 

हेल्पलाइनमा प्रयोग भएको शर्टकोड नम्बरमा आउने कल बापत मासिक रूपमा नेपाल टेलिकमलाई पैसा तिर्ने गरिएको समेत श्रेष्ठले बताइन् । हाल हेल्पलाइनमा मासिक १५ हजार रुपैयाँसम्म टेलिफोन बिल उठ्ने गरेको छ । 

‘रिसिभर पार्टी पे’ (कल प्राप्त गर्ने पक्षले पैसा तिर्ने) मोडलमा रेभिन्यु शेयरिङ (आम्दानी बाँडफाँड) प्रस्ट नहुँदा यस्तो समस्या उत्पन्न भएको हुन सक्ने बताइएको छ ।

“सामान्यतयाः कलिङ पार्टी र रिसिभर पार्टी दुवैले पैसा नतिर्ने गरी निःशुल्क गरिएका शर्टकोड तथा टोलफ्रिमा भने सेवा प्रदायकले नै त्यस्तो शुल्क व्यहोरिरहेका हुन्छन्,” नियामक नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले भने, “तर रिसिभर पार्टी पे मोडलमा भने बेलाबखत यस्तो समस्या आइरहेको हुन्छ ।” 

मानसिक अस्पताल, लगनखेलसँगको सहकार्यमा ट्रान्सकल्चरल साइकोलोजिकल अर्गनाइजेसन नेपाल (टीपीओ नेपाल) र विश्व स्वास्थ्य संगठनले यो हेल्पलाइन सञ्चालनमा ल्याएका हुन् । यसरी हेल्पलाइन मार्फत मानसिक परामर्श सेवा दिने गरिएको छ ।

हेल्पलाइन नम्बर मानसिक अस्पतालकै नाममा छ । अस्पताल परिसरमै राखिएको कल सेन्टरबाट विश्व स्वास्थ्य संगठनको सहयोगमा गैरसरकारी संस्थाले आत्महत्या रोकथामका लागि परामर्श दिने काम गर्दै आएको छ । 

पैसा एनसेललाई नतिरेका कारण कम्पनीका नम्बरबाट फोन नलागेको हुनसक्ने श्रेष्ठको बुझाई छ । “जसरी हुन्छ हामीलाई यो समाधान गर्नै पर्ने छ,” उनले भनिन्, “पैसा तिरेर भए पनि सबै नम्बरबाट फोन लाग्ने बनाउनुपर्ला भन्नेमा पुगेका छौं ।”

२४ सै घण्टा खुल्ला रहने हेल्पलाइनमा देनिक ५० ओटासम्म कल आउने गरेका छन् । हेल्पलाइनमा आउने कलमार्फत परामर्शदाता र मनोविद मरामर्श सेवा दिंदै आएका छन् । आवश्यक परेको खण्डमा मानसिक अस्पतालका डाक्टर समेत उपलब्ध हुने श्रेष्ठले बताइन् । 

मानसिक अस्पतालको तर्फबाट हेल्पलाइनका लागि फोकल प्वाइन्ट रहेका डाक्टर वासुदेव कार्कीले टेलिकम कम्पनीहरूलाई व्यावसायिक सामाजिक उत्तरदायित्वको रूपमा हेल्पलाइनको टेलिफोन शुल्क मिनाहा गरिदिन अनुरोध गरे ।

उनले भने, “आत्महत्या रोकथामको विषयमा सबैको साथ सहयोग र सहकार्य रहोस् भन्ने हाम्रो चाहना छ । एनसेलबाट हेल्पलाइन नम्बरमा फोन नलाग्ने समस्या सुरुवातदेखिकै हो ।” 

आत्महत्याको मनस्थितिमा पुगेका मानिसहरूलाई जोगाउनु सबैको उत्तरदायित्वको विषय हुने भन्दै उनले त्यसका लागि अस्पतालको तर्फबाट परामर्श निःशुल्क गरिएको सुनाए । “त्यसैगरी टेलिकम कम्पनीहरूले कल निःशुल्क गरिदिऊन्,” उनले भने, “हामीले यसका लागि एनसेलको कर्पोरेट अफिसमा गएर लिखित निवेदन समेत दिएका थियौं ।”



 

पछिल्लो अध्यावधिक: साउन २३, २०८० १८:२