close

कसरी हराए नेपाल टेलिकमका २० हजार रिचार्ज कार्ड ?

टेकपाना टेकपाना

साउन २४, २०८० १४:२७

कसरी हराए नेपाल टेलिकमका २० हजार रिचार्ज कार्ड ?

काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमका २० हजार थान ​रिचार्ज कार्ड हराएको छ । '११२२१२००१३७८०००१' देखि '११२२१२००१३८०००००' सिरियल नम्बरसम्मका ५० रूपैयाँका रिचार्ज कार्ड टेलिकमकाे वायरलेस सेवा निर्देशनालय भैरहवा ढुवानी गर्ने क्रममा हराएको हो ।

हराएका यी सिरियल नम्बरका रिचार्ज कार्ड सिस्टममा इन्ट्री नभएकाे टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । "हामीले उल्लेख गरेको सिरियल नम्बरका रिचार्ज कार्ड सिस्टममा इन्ट्री गरिसकेपछि मात्र एक्टिभेट हुन्छ," अधिकारीले भने, "सम्बन्धित ठाउँमा नपुगेकाले एक्टिभेट भएको छैन । त्यसैले अहिले त्यो कागजको टुक्रा मात्र हुन्छ ।"

उनले अगाडि भने, "टेलिकमले वायरलेस सेवा निर्देशनालयमा सबै रिचार्ज कार्ड पठाएको हुन्छ । उसले आवश्यकता अनुसार विभिन्न ठाउँमा पठाउँछ । त्यो पठाउने प्रक्रिया अरूले पठाए जस्तै यातायतको माध्यमबाट हो । यो हाम्रो नियमित प्रक्रिया हो । तर सवारी साधनले त्यहाँ पुर्‍याउने बेला मिस्प्लेस भएछ ।"

टेलिकमले ती रिचार्ज कार्डहरू पाइएमा खरिद तथा बिक्री वितरण नगर्न अनुरोध गरेको छ । "यदि कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिनु हुन समेत अनुरोध छ," टेलिकमले जारी गरेको सूचनामा लेखिएको छ ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८० १४:३६