काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका स्वयंसेवकले वाकीटकी प्रयोग गरेको फोटो सामाजिक सञ्जालमा आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले त्यस विषयमा अनुसन्धान गर्न निर्देशन दिएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलले फेसबुक पोस्टमा देखिएको वाकीटकी स्वीकृत र दर्तावाल हो, होइन छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।
फेसबुकमा ‘मुग्लिन बजार’ नामको पेजबाट 'RAT' सहित घन्टीको लोगो राखिएको सुन्तला रङकाे ज्याकेट लगाएका व्यक्तिले वाकीटकी समाएको फोटो आएपछि छानबिन गर्न निर्देशन दिइएको पाैडेलले उल्लेख गरे ।
“मंगलबार मुग्लिन-नारायणगढ सडक खण्डको कालिखोला भन्ने स्थानमा माथिबाट लेदो सहितको पहिरो आई बाटो अवरुद्ध भएकोमा सुरक्षा निकाय र सडक सहितका राज्यका अङ्गबाट भएको श्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाई सडक सुचारु गराई ट्राफिक व्यवस्थापन समेत गरेकोमा कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौ,” उनले विज्ञप्तिमा लेखेका छन् ।
यसैबीच प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि आरएटी टिम (द्रुतकार्य टोली)लाई रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिएका छन् ।