close

इन्टेल प्रोसेसरमा भेटियो गम्भीर सुरक्षा कमजोरी, पासवर्डसहित संवेदनशील डेटा चोरी हुन सक्ने !

टेकपाना टेकपाना

साउन २७, २०८० १३:४२

इन्टेल प्रोसेसरमा भेटियो गम्भीर सुरक्षा कमजोरी, पासवर्डसहित संवेदनशील डेटा चोरी हुन सक्ने !

काठमाडौं । इन्टेल प्रोसेसरहरूमा ‘डाउनफल’ नामक एक समस्या भएको पत्ता लागेको छ । यसबाट अर्बौं चिपहरूमा असर परेको बताइएको छ । सबैभन्दा सुरुमा गुगलका वरिष्ठ अनुसन्धानकर्मी डेनियल मोघामीले इन्टेल प्रोसेसरकाे उक्त बग पत्ता लगाएका थिए ।

डाउनफलले इन्टेल चिप्समा हुने विभिन्न निद्रेशनहरूलाई सङ्कलन गर्दछ, जुन निर्देशनले मेमोरीको विभिन्न भागहरूमा रहेका डेटालाई छिटो पहुँच लिन सीपीयूलाई मद्दत गर्ने गर्छ । अनुसन्धानकर्मी मोघामीले यो डाउनफलले कसरी काम गर्छ र के गर्न समस्या निम्त्याउन सक्छ भन्ने विवरण सहितको लेख तयार पारेका थिए ।

इन्टेलमा पाइएको यस समस्याले मेनस्ट्रिम र सर्भर लाइनअप दुवैका स्काइ लेकदेखि रकेट लेकसम्मका इन्टेल सीपीयूहरूलाई असर पारेको बताइएको छ ।

पछिल्ला वर्षहरूमा सीपीयू अपग्रेड नगरेका प्रयोगकर्ताहरू यस समस्याबाट अझ बढी प्रभावित हुनसक्ने जनाइएको छ । त्यस्तै ह्याकरहरूले इन्टेल चिपको यही समस्याको फाइदा उठाउँदै पासवर्ड लगायत अन्य संवेदनशील डेटा चोर्न सक्ने सम्भावना रहेको पनि उल्लेख गरिएको छ ।

मोघामीका अनुसार कमजोर इन्टेल प्रोसेसरहरू प्रयोग गरेर बनाइएका क्लाउड कम्प्युटिङ इन्भाइरोमेन्टमा समेत जोखिम निम्तिएको छ । त्यस्ता क्लाउड कम्प्युटिङ इन्भाइरोमेन्टमा एउटा खराब नियतकाे ग्राहकले उही क्लाउड कम्प्युटरमा रहेको अरूबाट डेटा चोर्न सक्छ ।

यद्यपि कम्पनीले यसको समाधान गर्न प्रयास गरिरहेकाे जनाएको छ । तर यस डाउनफलले चीपको पर्फर्मेन्स क्षमता भने घटाइदिएको बताइएको छ । फोरोनिक्स टेस्ट सुइट (पीटीएस) बाट लिनक्स सिस्टममा इन्टेलको चार ओटा सीपीयूको पर्फर्मेन्स क्षमता जाँच गर्दा ६ देखि ३९ प्रतिशतले घटेको पाइएको थियो ।

कम्पनीले प्रभावित भएका ती चिप्सका लागि नयाँ माइक्रोकोड जारी गर्ने बताएको छ । यस समस्याबाट बच्न सीपीयू अद्यावधिक गर्ने, अनलाइन सुरक्षाका थप कुरा पालन गर्नुपर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: साउन २७, २०८० १३:४२