close

टेलिकमको सोलार प्यानलमा अन्य सेवाप्रदायकले पुर्‍याए क्षति

टेकपाना टेकपाना

साउन २९, २०८० १६:४१

टेलिकमको सोलार प्यानलमा अन्य सेवाप्रदायकले पुर्‍याए क्षति

काठमाडौं । नेपाल टेलिकमले रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित आफ्नो कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्‍याइएको जनाएको छ ।

टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण आफ्नो सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पुर्‍याइएको कम्पनीले जनाएको छ ।

''सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकहरूले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहबरमा दुवै पक्षका बीच छलफल गरिएको थियो । परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएम लगायत दुवै पक्षका बीचमा गत शुक्रबार (२०८०।०४।२६) भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहोर्‍याउने सहमति भएको छ,'' टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने टेलिकमले चेतावनी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: साउन २९, २०८० १६:४१