काठमाडौं । एआई (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा सञ्चालित गुगलको सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीई) थप परिष्कृत भएको छ । गुगलले एक ब्लग सार्वजनिक गर्दै सो टुलको परिस्कृत संस्करण सार्वजनिक गरेको छ ।
यससँगै अब वेबमा भएका लामा लेखलाई छोटोकरीमा के भन्न खोजिएको छ भन्ने कुरा थाहा पाउन सकिन्छ । मंगलबार सार्वजनिक गरिएको फिचर विश्वभर उपलब्ध हुने क्रममा छ ।
पहिले गुगलको एपमा उपलब्ध हुने यो फिचर विस्तारै क्रोममा उपलब्ध गराउने कम्पनीको तयारी छ । अहिले गुगलमा कुनै पनि प्रश्न सोध्यो भने त्यसको उत्तर छोटोमा सबैभन्दा माथि दिइएको हुन्छ । त्यसपछि मात्र तपाईं उक्त लिङ्क खोल्ने वा नखोल्ने भन्ने निर्णय लिन सक्नुहुन्छ ।
अब भने ‘एसजीई ह्वाइल ब्राउजिङ’ फिचरले वेबमा भएका लामो लेखलाई छोटकारीमा प्रमुख कुराहरू उल्लेख गरिदिने भएको छ । यसका लागि तपाईं सर्च ल्याब्स जोडिएको हुनुपर्नेछ । यो सबै अकाउन्टमा उपलब्ध भइसकेको छैन ।
गुगलका अनुसार यो फिचर उपलब्ध भएपछि कुनै पनि वेब पेजको तल ‘गेट एआई पावर्ड की पोइन्ट्स’ लेखिएको बस्क देखिनेछ । उक्त बक्समा ट्याप गर्दा सो लेखमा भन्ने खोजिएका कुराहरू बुँदाहरूमा देखिनेछन् । त्यस्तै एसजीईमै पनि गुगलले केही आकर्षक फिचरहरू थपेको जनाएको छ ।
विशेषगरी तपाईंले विज्ञान, अर्थशास्त्र र इतिहास सम्बन्धी केही कुरा खोज्नुभयो र ती विषयमा उल्लेख गरिएका शब्द बुझ्नुभएन भने गुगलले त्यसको परिभाषा त्यही पेजमा देखाइदिनेछ । त्यस्तै शब्दबाट पनि बुझिएन भने गुगलले ती कुराहरू चित्र वा फोटोमा देखाउनेछ ।
गुगलले गत मे महिनामा एसजीई सार्वजनिक गरेको थियो । त्यही बेलादेखि यो टुललाई कम्पनीले परिमार्जन गरिरहेकाे छ ।