close

आमिर खानको नयाँ चलचित्र ‘सितारे जमीन पर’ मा नेपाली डिजाइनरको टाइपो प्रयोग

टेकपाना टेकपाना

बैशाख ३१, २०८२ १९:९

आमिर खानको नयाँ चलचित्र ‘सितारे जमीन पर’ मा नेपाली डिजाइनरको टाइपो प्रयोग

काठमाडौं । चर्चित बलिउड अभिनेता आमिर खानको बहुप्रतिक्षित चलचित्र ‘सितारे जमीन पर’ मा नेपाली डिजाइनर आनन्द महर्जनले तयार पारेको हिन्दी टाइपो फन्ट प्रयोग भएको छ । मङ्गलबार सार्वजनिक भएको चलचित्रको ट्रेलरमा महर्जनले डिजाइन गरेको टाइपो देखिएको हो ।

डिजाइनर महर्जनले आफूले ‘सितारे जमीन पर’ का लागि अङ्ग्रेजी र हिन्दी दुवै टाइपो तयार पारेकोमा हिन्दी फन्ट प्रयोगमा आएको पुष्टि गरे । “सितारे जमीन परका लागि मैले अङ्ग्रेजी र हिन्दी दुवै फन्ट बनाएको थिएँ,” उनले टेकपानासँग भने, “त्यसमा उनीहरूले प्रयोगमा ल्याएको अङ्ग्रेजी टाइपोको शैलीमा मैले बनाएको हिन्दी टाइपो प्रयोग भएको छ ।”

आगामी २० मेमा प्रदर्शनमा आउन लागेको यस चलचित्रले दर्शकमाझ चर्चा बटुलिरहेको छ । यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरलाई युट्युबमा तीन करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ ।

महर्जनका अनुसार यो उनको पहिलो बलिउड सहकार्य भने होइन । उनले हालसम्म ६० देखि ७० ओटा हिन्दी चलचित्रका लागि टाइपो डिजाइन गरिसकेका दाबी गरे । “यो आउटसोर्सिङ काम हो । मैले भारतको पोस्टर डिजाइन एजेन्सी एच-वनसँग सहकार्य गर्दै आएको छु । र त्यहींमार्फत विभिन्न बलिउड चलचित्रका लागि टाइपो बनाउने अवसर पाइरहन्छु,” महर्जनले थपे ।

उनले यसअघि ‘छवा’, ‘जवान’, ‘ब्रह्मास्त्र’, ‘आदिपुरुष’, ‘एङ्ग्री यङ म्यान’, ‘ब्याड न्युज’ र ‘लाल सिंह चड्डा’ जस्ता चर्चित चलचित्रका लागि टाइपो डिजाइन गरेका छन् । त्यसका साथै ‘रकी और रानी’, ‘डंकी’, ‘धडक’, ‘केदारनाथ’, ‘मडगाउँ एक्सप्रेस’, ‘सूर्यवंशी’, ‘अतरंगी रे’, ‘भोला’, ‘टोटल धमाल’, ‘प्याडम्यान’, ‘ट्युबलाइट’, ‘जल्ली एलएलबी२’, ‘रक्षा बन्धन’, ‘राम सेतु’, ‘हिन्दी मिडियम’, ‘झुन्ड’ लगायत दर्जनौं चर्चित भारतीय चलचित्रका लागि टाइपो डिजाइन गरिसकेको उनले सुनाए । 

दशकौंदेखि फन्ट तथा पोस्टर डिजाइनिङमा जमेका महर्जनको प्रोफाइल स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ १९:९