close

अब टिकटकमा एआईले नै फोटोलाई भिडिओ बनाइदिने

टेकपाना टेकपाना

बैशाख ३१, २०८२ १५:३

अब टिकटकमा एआईले नै फोटोलाई भिडिओ बनाइदिने

काठमाडौं । टिकटकले ‘एआई अलाइभ’ नामक फिचर सार्वजनिक गरेको छ । कम्पनीले मङ्गलबार फोटोकै भरमा भिडिओ तयार पार्ने टुल सार्वजनिक गरेको हो । 

यो फिचर प्रयोग गरी प्रयोगकर्ताले कुनै पनि स्थिर फोटोलाई टिकटक स्टोरीमार्फत भिडिओ क्लिपमा बदल्न सक्ने कम्पनीले जनाएको छ ।

उदाहरणका रूपमा कम्पनीले एउटा भिडिओ पनि सार्वजनिक गरेको छ । सो भिडिओमा टिकटकको नयाँ ‘एआई अलाइभ’ अप्सनले स्थिर फोटोलाई डिजिटल रूपमा एनिमेट गरी तस्बिरको स्रोतको आधारमा भिडिओमा परिणत गरेको देख्न सकिन्छ ।

“हामी सबैलाई थाहा छ, एक तस्बिरले हजार शब्द बोल्छ र टिकटकले भिजुअल स्टोरीटेलिङको यो नयाँ रूपलाई अझ अगाडि बढाउने लक्ष्य राखेको छ,” कम्पनीले भनेको छ, “एआई अलाइभमार्फत क्रियटरले अब सजिलैसँग आफ्ना फोटोलाई एनिमेट गर्न र आफ्ना कम्युनिटीका लागि थप आकर्षक स्टोरी भन्न सक्नेछन् ।”

कम्पनीका अनुसार यो फिचर प्रयोग गर्न एपको स्टोरी अप्सनमा ट्याप गरी क्यामेरामा गएर आफूलाई उपयुक्त लाग्ने तस्बिर छान्नुपर्छ । त्यसपछि दायाँपट्टि देखिएको ‘एआई अलाइभ’को अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि तपाईंलाई उक्त फोटोबाट कस्तो भिडिओ बनाउन मन लाग्छ, त्यही प्रम्प्ट राख्नुपर्ने हुन्छ । यसरी प्रम्प्टको आधारमा ‘एआई अलाइभ’ले स्थिर तस्बिरलाई आकर्षक भिडिओमा परिणत गर्ने कम्पनीले जनाएको छ । 

टिकटक, इन्स्टाग्राम र स्नापच्याटमा पहिलेदेखि नै यस्तै सुविधा भएको फिल्टर उपलब्ध थिए । अहिले भने टिकटकले त्यसैका लागि छुट्टै एआई टुल ल्याएको जनाएको छ ।

कहिलेकाहीँ यी एआई एनिमेसन उत्कृष्ट देखिन्छन् र वास्तविक भिडिओ क्लिप जस्तै महसुस हुन्छन् । तर, कहिलेकाहीँ अनुहारको हाउभाउ बिग्रिने, शरीरका अङ्ग अस्वाभाविक देखिन सक्ने भन्दै कम्पनीले सचेत बनाएको छ । 

यस अप्सनको प्रयोग गरी तयार पारिएका भिडिओ प्रयोग गर्न पर्याप्त हुनेमा कम्पनी विश्वस्त छ । अझ रोचक कुरा त के छ भने इन्स्टाग्रामले पनि क्यापकटको नक्कल गर्दै ल्याएको ‘एडिट्स’ एपमा यस्तै फिचर थप्न खोजिरहेको छ । यो फिचर कम्पनीले बुधबारदेखि विश्वव्यापी रूपमा उपलब्ध गराउन थालेको छ । सबै प्रयोगकर्ताले कहिले पाइसक्छन् भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ १५:१६