close

एन्ड्रोइडको ‘नियरबाई शेयर’ मा नयाँ सुविधा, अब फोनबाट सोझै कम्प्युटरमा फाइल पठाउन सकिने

टेकपाना टेकपाना

साउन ३२, २०८० १३:५६

एन्ड्रोइडको ‘नियरबाई शेयर’ मा नयाँ सुविधा, अब फोनबाट सोझै कम्प्युटरमा फाइल पठाउन सकिने

काठमाडौं । आईओएस डिभाइसमा फाइल शेयर गर्ने सबैभन्दा उपयुक्त तरिकामध्ये एयरड्रप एक हो । त्यसैको विकल्पमा गुगलले एड्रोइडका लागि ‘नियरबाई शेयर’ फिचर ल्याएको थियो ।

अहिले भने गुगलले नियरबाई शेयर फिचर विन्डोजमा ल्याउने तयारी गरेकाे छ । हाल बेटा भर्सनमा सीमित प्रयोगकर्तामाझ उपलब्ध यो फिचर छिट्टै पूर्ण रूपमा सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने गुगलले बताएको छ ।

यसको सहायताले अब एन्ड्रोइडबाट सहजै ल्यापटप वा कम्प्युटरमा फाइलहरू तीव्र स्पिडमा शेयर गर्न सकिनेछ । तर, दुवै डिभाइसमा एउटै गुगल अकाउन्ट लगइन गर्नुपर्ने हुन्छ । गुगलले यही फिचरमार्फत विभिन्न फरक डिभाइसमा फाइल छिटो र सहजै शेयर गर्न सकिने बनाएको छ ।

एक्समा पोस्ट गर्दै एन्ड्रोइड जानकार मिशाल रहमान (Mishaal Rahman) एक्समा एक पोस्ट राख्दै एन्ड्रोइड सिम्टमको शेयर शिटमा यो फिचर छिट्टै देखिने बताएका छन् ।

“यसले गर्दा तपाईंले नियरबाई शेयर मेन्यु नखोलेरै सोझै डिभाइसको नाममा ट्याप गरेर फाइल शेयर गर्न सक्नुहुनेछ,” उनले लेखका छन् ।

विशेषगरी तपाईंले आफ्नो एन्ड्रोइड डिभाइसमा कुनै पनि फाइललाई शेयर गर्न खोज्नुभयो भने त्यहाँ शेयर शिट खुल्छ । जसमा शेयर गर्न सकिने सामाजिक सञ्जाल एवम् अन्य विभिन्न प्लेटफर्म देखाइएको हुन्छ । त्यसको सबैभन्दा माथि नियरबाई शेयरको अप्सन राखिएको हुन्छ ।

सोही अप्सनको तल कम्प्युटरको नाम देखिन्छ । सो नाममा ट्याप गरिसकेपछि फाइल सहजै शेयर गर्न सकिने उनको भनाइ छ ।

गुगलले यो फिचर सबै क्षेत्रमा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइसकेको छैन । केही प्रयोगकर्ताले भने सामाजिक सञ्जालमार्फत उक्त फिचर आफ्नो डिभाइसमा आइसकेको दाबी गरेका छन् ।

पछिल्लो अध्यावधिक: साउन ३२, २०८० १५:५२