close

आफ्नो आईफोन वा एन्ड्रोइड फोनमा यसरी सेट गर्नुहोस् मोबाइल हट्स्पट

टेकपाना टेकपाना

भदौ १, २०८० १४:२९

आफ्नो आईफोन वा एन्ड्रोइड फोनमा यसरी सेट गर्नुहोस् मोबाइल हट्स्पट

 

काठमाडौं । अहिलेका प्रायः स्मार्टफोनमा मोबाइल हट्स्पटको सुविधा हुन्छ । यो यस्तो सुविधा हो, जसले एउटा डिभाइसको सहायताले अन्य विभिन्न डिभाइसमा इन्टरनेट कनेक्ट गर्न सघाउँछ ।

केही फोनमा वाई-फाई नेटवर्क पनि हट्स्पटको सहायताले कनेक्ट गर्ने सुविधा दिइएको हुन्छ । तर, अहिले वाई-फाई हट्स्पट त्यति प्रयोगमा छैन । किनभने क्यूआर स्क्यान गरी सोझै वाई-फाईको पासवर्ड थाहा पाउन सकिन्छ । त्यसपछि डिभाइसमा वाई-फाई नेटवर्क कनेक्ट हुन्छ ।

थ्रीजी, फोरजी वा फाइभजी नेटवर्कबाट इन्टरनेट शेयर गर्नुपर्‍यो भने मोबाइल हट्स्पट उपयुक्त फिचर हो । यदि तपाईंले हट्स्पट प्रयोग गर्नु भएको छैन भने यो लेख तपाईंका लागि उपयुक्त हुन सक्छ ।

आज हामी एन्ड्रोइड तथा आईफोनमा मोबाइल हट्स्पट कसरी एक्टिभेट गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं: 

तपाईंको फोनले हट्स्पट सपोर्ट गर्छ ? यसरी जाँच गर्नुहोस्

अहिलेका अधिकांश स्मार्टफोनमा मोबाइल हट्स्पट फिचर उपलब्ध हुन्छ । तपाईंको फोनमा मोबाइल हट्स्पट छ वा छैन भन्ने जाँच गर्न क्विक सेटिङ वा सेटिङमा गई मोबाइल हट्स्पट (Mobile Hotspot) सर्च गर्नुहोस् ।

यदि मोबाइलमा हट्स्पटको सुविधा दिइएको रहेछ भने आफूले लिने मोबाइल डेटा ख्याल गर्नुहोस् ।

यदि तपाईंले हट्स्पट मार्फत इन्टरनेट दिन चाहेको डिभाइसमा धेरै कुराहरू अपडेट हुने भएको छ वा सो डिभाइसले बढी इन्टरनेट डेटा खपत गर्छ भने तपाईंले लिएको डेटा छिटो सकिन सक्छ । त्यसैले मोबाइल हट्स्पट प्रयोग गर्नुअघि आफ्नो सिममा पर्याप्त डेटा भएको निश्चित गर्नुहोस् ।

आईफोनमा यसरी सेट गर्नुहोस् मोबाइल हट्स्पट

- सबैभन्दा पहिले आईफोनको सेटिङमा जानुहोस् । 

- त्यसपछि “पर्सनल हट्स्पट’ (Personal Hotspot) मा जानुहोस् । 

- अनि ‘अलाउ अदर्स टु जोइन’ (Allow others to join) को अप्सन अन गर्नुहोस् । 

- यति गरेपछि त्यहाँ तपाईंको मोबाइल हस्टपटको पासवर्ड देखिन्छ । 

 

कनेक्ट गर्नुपर्ने डिभाइसमा तलको प्रक्रिया अपनाउनुहोस्:

- मोबाइल हट्स्पट कनेक्ट गर्नुपर्ने फोन वा अन्य डिभाइसको वाई-फाई अप्सनमा जानुहोस् । 

- त्यसपछि आईफोनको नामको अप्सनमा जानुहोस् । 

- अनि माथि देखिएको वाई-फाई पासवर्ड राखेर कनेक्ट गर्नुहोस् । 

 

एन्ड्रोइडमा मोबाइल हट्स्पट यसरी प्रयोग गर्नुहोस् 

सबै एन्ड्रोइड फोनमा एउटै किसिमको सेटिङ हुन्छ भन्ने हुँदैन । त्यसैले एन्ड्रोइड फोनको ब्रान्ड अनुसार हरेक डिभाइसमा फरक फरक तरिकाले हट्स्पट प्रयोग गर्न सकिन्छ । एन्ड्रोइडमा भने चार तरिकाले हट्स्पट शेयर गर्न सकिन्छ । विशेषगरी एन्ड्रोइडमा मोबाइल हट्स्पट, ब्लुटुथ टेथरिङ, यूएसबी टेथरिङ, इथरनेट टेथरिङ मार्फत इन्टरनेट शेयर गर्न सकिन्छ । मोबाइल हट्स्पटमार्फत इन्टरनेट शेयर गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

-सबैभन्दा पहिले सेटिङमा जानुहोस् । 

-त्यसपछि सर्टबारमा गएर मोबाइल हट्स्पट (Mobile Hotspot) सर्च गर्नुहोस् वा कनेक्सनको अप्सनमा गएर सोझै मोबाइल हट्स्पट एन्ड टेथरिङ (Mobile Hotspot and Tethering) को अप्सनमा जानुहोस् । (केही डिभाइसमा यही फिचर अन्य नामबाट उपलब्ध गराइएको हुन्छ । त्यसका लागि हट्स्पट मात्र सर्च गर्दा हुन्छ ।)  

- त्यसपछि त्यही पेजमा मोबाइल हट्स्पट, ब्लुटुथ टेथरिङ, यूएसबी टेथरिङ इथरनेट टेथरिङको अप्सन दिइएको हुन्छ । 

- यति भएपछि मोबाइल डेटा अन गर्नुहोस् । अनि माथि मोबाइल हट्स्पटको अप्सन अन गर्न सकिन्छ । त्यसपछि पासवर्ड र मोबाइल हट्स्पटको नाम त्यही देखिन्छ । 

- अर्को डिभाइसमा वाई-फाईको सेटिङमा जानुहोस् र एन्ड्रोइड फोनको नाममा ट्याप गरी पावर्ड राखेर हट्स्पट अन गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ १, २०८० १४:२९