close

‘एक्स’ मा अब कसैलाई पनि ब्लक गर्न नमिल्ने !

टेकपाना टेकपाना

भदौ २, २०८० १४:१७

‘एक्स’ मा अब कसैलाई पनि ब्लक गर्न नमिल्ने !

काठमाडौं । एलन मस्क स्वामित्वको सोसल मिडिया प्लेटफर्म एक्स (ट्वीटर) ले ‘ब्लकिङ’ फिचर हटाउने भएको छ । एक्समा मानिसहरूलाई ब्लक गर्नुको कुनै अर्थ नभएको भन्दै मस्कले यो फिचर हटाउन लागेको बताएका छन् ।

एक्समा ‘टेस्ला ओनर्स सिलिकन भ्याली’ को एक प्रश्नमा जवाफ दिँदै उनले चाँडै नै ब्लकिङ फिचर हटाउन लागेको उल्लेख गरे ।

यो निर्णय लागू भए एक्समा अनावश्यक व्यक्तिहरूलाई डाइरेक्ट मेसेज (डीएम) गर्नबाट रोक्न सकिए पनि सिधै ब्लक गर्न भने सकिँदैन । यसको अर्थ आफूलाई मन नपरेका अकाउन्टको पोस्ट वा अन्तक्र्रिया प्रयोगकर्ताले आफ्नो फिडमा हेर्नुपर्नेछ ।

मस्कका अनुसार प्रयोगकर्ताले अनावश्यक व्यक्तिहरूको गतिविधि नहेर्न त्यस्ता अकाउन्ट म्युट गर्न सक्नेछन् । तर म्युट गरिएका अकाउन्टहरूले पूर्ण रूपमा सुरक्षा प्रदान नगर्ने भन्दै केही एक्स प्रयोगकर्ताले मस्कको आलोचना गरेका छन् । उनीहरुले यो फिचर हटाउँदा मानिसहरूको टाइमलाइनबाट अपमानजनक पोस्टहरू देखापर्ने र थप दुर्व्यवहारकाे सम्भावना रहने धारणा राखेका छन् ।

केही विज्ञहरूले मस्कको यो कदमले एप्पलको एपस्टोर र गुगल प्ले स्टोरहरूको नियम उल्लङ्घन गर्ने चेतावनी दिएका छन् । तर केही प्रयोगकर्ताहरूले भने यो निर्णयको प्रशंसा गर्दै एक्सलाई छलफलका लागि अझ खुला र स्वतन्त्र प्लेटफर्म बनाउनुपर्ने बताएका छन् ।

मस्कले यो परिवर्तन कहिलेदेखि लागू गर्ने भनेर स्पष्ट जानकारी दिएका छैनन् । यद्यपि, यो एक महत्त्वपूर्ण परिवर्तन हो, जसले एक्सको काम गर्ने तरिकामा ठूलो प्रभाव पार्न सक्छ ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० १६:१