close

ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले डिलिट गरे आफ्नो इन्स्टाग्राम अकाउन्ट

टेकपाना टेकपाना

भदौ ३, २०८० ९:४०

ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले डिलिट गरे आफ्नो इन्स्टाग्राम अकाउन्ट

 

काठमाडौं । ट्वीटरका सह-संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सीले आफ्नो इन्स्टाग्राम अकाउन्ट डिलिट गरेका छन् । ट्वीटरका रूपमा परिचित एक्समा पोस्ट गर्दै उनले मेटाका कारण आफूले इन्स्टाग्राम अकाउन्ट डिलिट गरेको बताएका हुन् ।

आफ्नो पहिलो नामको युजरनेम (@jack) पाउने उनी उक्त प्लेटफर्ममा अकाउन्ट बनाउने पहिलो १०औं प्रयोगकर्ताभित्र पर्छन् । एक्समा पोस्ट गर्दै उनले लेखेका छन्, “मैंले १२ वर्षपछि इन्स्टाग्राम अकाउन्ट डिलिट गरेँ ।” सोही पोस्टमा डोर्सीले आफू इन्स्टाग्रामको पहिलो एन्जल इन्भेस्टर समेत रहेको बताएका छन् । 

त्यस्तै उनले ‘नस्ट्र’ नामक सामाजिक सञ्जालमा फेसबुकले इन्स्टाग्राम खरिद गरिसकेपछि आफूले अकाउन्ट प्रयोग गर्न बन्द गरेको उल्लेख गरेका छन् । 

"मैले मेरो इन्स्टाग्राम अकाउन्ट हटाएँ । थाहा छैन मलाई किन यति लामो समय लाग्यो," डोर्सीले नोस्ट्रमा लेखेका छन् ।  

डोर्सी र इन्स्टाग्रामका सह-संस्थापक केभिन सिस्ट्रोमले ‘ओडियो’ (Odeo) नामको कम्पनीमा सँगै काम गरेका थिए । पछि उनीहरू नजिकका साथी पनि बने । त्यसैले डोर्सी इन्स्टाग्रामको एन्जल इन्भेस्टर बनेको बताइन्छ । सिस्ट्रोम सेप्टेम्बर २०१८ सम्म इन्स्टाग्रामको सीईओ रहेका थिए । मेटाले सन् २०१२ मा एक अर्ब डलरमा इन्स्टाग्राम किनेको थियो । त्यही समयदेखि डोर्सी इन्स्टाग्राममा निष्क्रिय बनेका थिए । 

उनले अप्रिल ९, २०१२ पछि इन्स्टाग्राम पोस्ट  गरेका छैनन् । डोर्सोको जस्तो ह्यान्डल प्रायः धेरै चलाउन खोजिरहेका हुन्छन् । त्यस्तै सेकेन्डरी बजारमा यस्ता ह्यान्डल हजारौं डलरमा बिक्री हुन सक्ने टेकक्रन्चले उल्लेख गरेको छ ।

फेरि यो ह्यान्डल उपलब्ध भयो भने यसलाई पाउनेले बिक्री गर्न सक्ने बताइएको छ । हाल डोर्सी आफ्नो प्रविधि कम्पनी ‘ब्लक इंक’ र समाजिक सञ्जाल ब्लुस्काईमा आबद्ध छन् । साथै उनी पछिल्लो समय ‘नोस्ट्र’ मा पनि निकै सक्रिय छन् ।

पछिल्लो अध्यावधिक: भदौ ३, २०८० ९:४०