close

भारतको सम्भावित रेकर्ड तोड्न उडेको रुसी अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त

टेकपाना टेकपाना

भदौ ३, २०८० १६:४४

भारतको सम्भावित रेकर्ड तोड्न उडेको रुसी अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त

काठमाडौं । रुसको लुना २५ अन्तरिक्षयान चन्द्रमामा दुर्घटनामा परेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा ‘सफ्ट ल्यान्डिङ’ गर्ने पहिलो देश बन्ने उद्देश्यले रुसले ११ अगस्टमा प्रक्षेपण गरेको चन्द्रयान नौं दिनपछि चन्द्रमाको सतहमा दुर्घटनामा परेको हो । 

बीबीसीका अनुसार चन्द्रमाको सतहमा पुगेको सो यान नियन्त्रण बाहिर गएर घुमेपछि दुर्घटनामा परेको हो । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो यान हुने उद्देश्यका साथ मानव रहित लुना २५ यान प्रक्षेपण गरिएको थियो ।

तर, आफ्नो प्रि-ल्याण्डिङ कक्ष (Prelanding Orbit) मा सर्दा समस्या आएपछि असफल हुन पुगेको छ । आज आइतवार बिहान रुसको स्पेस स्टेसन कर्पोरेसन रोस्कोमसले लुना २५ सँग शनिवारदेखि सम्पर्क टुटेको जानकारी गराएको थियो । 

अन्तरिक्ष यान किन असफल भयो भन्ने विषयमा विशेष आयोग गठन गरेर अनुसन्धान गरिने विज्ञप्तिमा उल्लेख छ । 

यसअघि सन् १९७६ मा रुस सोभियत युनियनको अङ्ग हुँदा लुना २४ चन्द्रयान प्रक्षेपण गरिएको थियो । सो यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएको थियो ।

हाल भारतले चन्द्रमामा पठाएको चन्द्रयान ३ ले उक्त लक्ष हासिल गर्ने योजना बनाएको छ । सो कीर्तिमान तोड्नु अघि नै अवतरण गर्न लागिएको रुसको अन्तरिक्ष यान दुर्घटनामा परेको हो ।

भारतको चन्द्रयान ३ बुधवार (२३ अगस्ट) चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने अपेक्षा गरिएको छ । भारतीय अन्तरिक्ष एजेन्सी संगठन (इसरो) ले हालसम्म चन्द्रयान ३ को अवस्था ठीक भएको बताएको छ । यद्यपि अवतरण हुने अन्तिम समयसम्म पनि दुर्घटनामा पर्ने सम्भावना रहन्छ ।

हालसम्म कुनै पनि देशले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलता पूर्वक अन्तरिक्ष यान अवतरण गराउन सकेका छैनन् । चन्द्रमाको सतहमा भने अवतरण गर्ने कार्यमा भने अमेरिका, चीन र रुस गरी तीन ओटा देश सफल भइसकेका छन् । भारत चन्द्रमामा सफल अवतरण गर्ने चौथो देश र दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बन्ने लक्ष्यमा छ ।  

 

पछिल्लो अध्यावधिक: भदौ ३, २०८० १६:४४