close

सक्रिय प्रयोगकर्ता घटेपछि यही साता थ्रेड्सको वेब भर्सन ल्याउँदै मेटा

टेकपाना टेकपाना

भदौ ४, २०८० २१:५१

सक्रिय प्रयोगकर्ता घटेपछि यही साता थ्रेड्सको वेब भर्सन ल्याउँदै मेटा

काठमाडौं । हालै सार्वजनिक भएको मेटाको सामाजिक सञ्जाल थ्रेड्सको वेब भर्सन यही साता आउने भएको छ । द वाल स्ट्रिट जर्नलमा प्रकाशित एक समाचार अनुसार मेटाले यही साता थ्रेड्सको वेब भर्सन ल्याउन लागेको हो ।

थ्रेड्स सार्वजनिक भएपछि प्रयोगकर्ताले सबैभन्दा बढी खोजेको सो प्लेटफर्मको वेब भर्सन हो । बहुप्रतिक्षित वेब भर्सन चाँडै उपलब्ध हुने उल्लेख गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले थ्रेड्समा एक पोस्ट राख्दै सो प्लेटफर्ममा विभिन्न फिचरहरू थप गरिरहेको जानकारी दिएका थिए ।

विशेषगरी एड्भान्स सर्च (कुनै पनि शब्द खोजेको भरमा प्रयोगकर्ताको नाम, उसले राखेको पोस्ट देखिने फिचर) उपलब्ध गराउने बताएका थिए । इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले एक प्रयोगकर्तालाई रिप्लाई दिँदै वेब भर्सनका लागि कम्पनीले परीक्षण गरिरहेको जानकारी दिएका थिए । वाल स्ट्रिट जर्नलले भने आफ्नो स्रोतको भनाइ उध्दृत गर्दै यसै साता कम्पनीले थ्रेड्सको वेब भर्सन सार्वजनिक गर्ने तयारी गरेको उल्लेख गरेको छ ।​

ट्वीटरका रूपमा परिचित एक्सको प्रतिद्वन्द्वीका रूपमा हेरिएको थ्रेड्सले पछिल्लो समय सक्रिय प्रयोगकर्ता गुमाइरहेको छ । सार्वजनिक भएको पाँचौं दिनमा १० करोड प्रयोगकर्ता पाएर रेकर्ड राखेको सो एपका ८२ प्रतिशत प्रयोगकर्ता निस्क्रिय छन् । प्रयोगकर्ताको त्यही लय कायम राख्न कम्पनी विभिन्न आकर्षक फिचर ल्याउनमा केन्द्रित छ । 
 

पछिल्लो अध्यावधिक: भदौ ४, २०८० २१:५१