काठमाडौँ । ‘पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ बाट नेपाली टिम एक कदम मात्र टाढा रहेका छन् । अहिले चल्दै गरेको पब्जीको दक्षिण एसिया स्तरको ठूलो प्रतियोगिता 'पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३' को फाइनलमा पुगेसँगै पीएमजीसीको यात्रा झनै नजिक देखिएको हो ।
नेपालबाट पीएमपीएल साउथ एसिया च्याम्पियनशिप फल २०२३ खेलिरहेका पाँच टिम नै लिग चरणमा राम्रो प्रदर्शन गर्दै फाइनलको यात्रा बनाउन सफल भएका हुन् । नेपालबाट ‘रअ ई-स्पोर्ट्स’, ‘टीटूके ई-स्पोर्ट्स’, ‘लियो ई-स्पोर्ट्स’, ‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’ले यो प्रतियोगिता खेलिरहेका छन् ।
‘डीआरएस गेमिङ’ १६ गेममा पाँच गेममा चिकेन डिनर र ९३ एलिमिनेसन पोइन्ट सहित १६४ पोइन्ट ल्याएर अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा पनि नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’ रहेको छ । उसले तीन चिकेन डिनरसहित १५१ पोइन्ट ल्याएकाे छ ।
याे प्रतियाेगितामा ‘डीआरएस’ सँगै ‘रअ ई-स्पोर्ट्स’को पनि गन चलेको छ । यस्तै अन्य नेपाली टिमको कुरा गर्दा ‘टीटूके ई-स्पोर्ट्स’ पाँचौ, ‘लियो ई-स्पोर्ट्स’ सातौँ र ‘स्काइलाइट गेमिङ’ १३औं स्थानमा रहेका छन् ।
दक्षिण एसियाली क्षेत्रको प्रतियोगितामा सधैजस्तो राज गर्ने मङ्गोलियन टिमहरू भने लिग चरणमा खासै चल्न सकेनन् । जसको फाइदा पूरै नेपाली टिमले उठाएका छन् ।
यो प्रतियोगिताको फाइनलको खेल ३१ अगस्ट देखि ३ सेप्टेम्बरसम्म चल्नेछ, जसमा शीर्ष चारभित्र रहने टिमले ‘पीएमजीसी २०२३’ मा स्थान बनाउने छन् ।
यो प्रतियोगिता खेल्दै गरेको दुई टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ र ‘एगोनआइएट’ ‘पीएमजीसी २०२३’ को लागि छनोट भइसकेका छन् । त्यसैकारण यी दुई टिम शीर्ष चारभित्र परेमा पनि अन्य दुई टिम पीएमजीसीको लागि छनोट हुनेछन् । समग्रमा यो प्रतियोगिता खेल्दै गरेका ६ टिमले पीएमजीसी खेल्न पाउनेछन् ।
नेपाली टिमले पनि लिग चरणमा गरे जस्तो प्रदर्शनलाई दोहोर्याउन सकेमा पक्कै पनि केही नेपाली टिम पनि पीएमजीसी खेल्न छनोट भएको हामीले देख्न पाउने छौँ ।