काठमाडौं । जनमत पार्टीका नेता एवं प्रतिनिधिसभा सांसद अब्दुल खानले इन्जिनियरिङ कार्यक्रमहरूकाे शुल्क वृद्धिपछि उत्पन्न असहज परिस्थितिकाे तत्काल समाधान हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विद्यार्थीहरू आन्दाेलनमा उत्रनुपर्ने अवस्था रहेकाे भन्दै यथाशीघ्र समाधान गर्न माग राखे ।
“आईओईले तीन गुणा बढी शुल्क बढाएपछि अहिले इन्जिनियरिङका विद्यार्थीहरू आन्दोलन गर्न बाध्य छन् । माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्,” संसदमा बोल्दै उनले भने, “यस्तो अवस्थामा हाम्रो देशको भविष्य कस्तो हुन्छ ? हाम्राे देशकाे भविष्य के हुन्छ ? हाम्रा नेताज्यूले, माननीयज्यूहरूले हाम्राे देशकाे प्लान कसरी गर्दै हुनुहुन्छ, जहाँ विद्यार्थीहरू पढ्ने समयमा आन्दोलन गर्न बाध्य छन् । यसकारण यथाशीघ्र यो समस्याको समाधान गर्न म जाेडदार माग गर्दछु ।”
त्यस्तै उनले लाखौं रुपैयाँ खर्च गरेर विद्यार्थीहरूले कम्प्युटर शिक्षा अध्ययन गरे पनि जागिर नपाउने वा कम तलबमा काम गर्नुपर्ने अवस्था रहेकाे भन्दै यस्ता जनशक्तिका लागि दरबन्दी सिर्जना गर्न माग राखे ।