काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तहमा बौद्धिक चोरी परीक्षण अनिवार्य गरेको छ । आफू अन्तर्गतका क्याम्पसहरूलाई पत्राचार गर्दै संस्थानले यसबारे जानकारी दिएको हो ।
योसँगै बीएससी सीएसआईटी, बीआईटी, बी टेक फुड लगायतका विषयको परियोजना, टर्म पेपर, फिल्ड वर्क, इन्टर्नशिप रिपोर्ट आदिमा बौद्धिक चोरी परीक्षण अनिवार्य गरिएको छ । विश्वविद्यालयले २० प्रतिशतसम्मको प्लेजरिजमलाई मान्यता दिइएको छ ।
विद्यार्थीहरूले विश्वविद्यालयले उपलब्ध गराएको आईथेन्टिकेट (iThenticate) सफ्टवेयरबाट बौद्धिक चोरी परीक्षण गर्नुपर्ने छ । सम्बधनप्राप्त कलेजहरूले त्रिवि केन्द्रीय पुस्तकालयबाट यो काम गर्नसक्ने बताइएको छ ।
२०७७ सालबाट विश्वविद्यालयले थेसिसमा हुने बौद्धिक चोरीका घटना नियन्त्रण गर्न 'प्लेजरिजम डिटेक्टर सफ्टवेयर' सञ्चालनमा ल्याएको थियो । त्यतिबेला एमफिल र विद्यावारिधि (पीएचडी) तहमा मात्र लागू गरिएको यो व्यवस्था अब स्नातक तहमा पनि लागू गर्न थालिएको छ ।