काठमाडौँ । पोखरा महानगरपालिका वडा नं २६ मा एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी डिजिटल प्रविधिसम्बन्धी सीपमूलक तालिम सुरु गरिएको छ । वडाको समन्वय र आकार समूहको पहलमा डाँडाको नाकस्थित रविमहलमा नि:शुल्क तालिम सञ्चालन गरिएको हो ।
वडा अध्यक्ष नरेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा मोबाइल ब्लुटुथ प्रणाली प्रयोग गरी फ्लेक्स पर्दा खोलेर प्रविधिमैत्री शैलीमा तालिमको सुरुवात गरिएको थियो । कार्यक्रममा शिक्षाविद् रवि बरालसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले तालिमको प्रयोगात्मक पक्षबारे धारणा राखेका थिए ।
करिब ८० जना सहभागी रहेका यस तालिममा भिडिओ एडिटिङ, कन्टेन्ट क्रिएसन, ग्राफिक डिजाइन, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व, रोबोटिक्स एन्ड प्रोग्रामिङ तथा पाइथन प्रोग्रामिङ सम्बन्धी प्रशिक्षण दिइने वडा अध्यक्ष थापाले जानकारी दिए ।
पाँचदेखि छ हप्ता सञ्चालन हुने तालिमले ‘पढ्दै, कमाउँदै’ अवधारणालाई आत्मसात गर्दै विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको आयोजक संस्थाले जनाएको छ ।