काठमाडौं । सम्बृद्धि स्कुलको स्वामित्व तथा व्यवस्थापनमा सञ्चालित वनस्थली, बालाजु स्थित काठमाडौं बिजनेस क्याम्पसले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थिहरूलाई एक महिने बेसिक नेटवर्किङ तथा अपरेटिङ सिस्टमको तालिम निःशूल्क दिने भएको छ । यही भदौ २१ गते बिहिवारदेखि दैनिक डेढ घण्टा सैद्धान्तिक तथा व्यावहारिक तरिकाले सिस्को सिस्टम्सबाट मान्यता प्राप्त प्रशिक्षकले उक्त तालिम सञ्चालन गर्ने छन् ।
अहिलेको डिजिटल विश्वमा सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्नेहरूका लागि तथा यस क्षेत्रमा काम गर्न चाहनेहरूका लागि नेटवर्किङ तथा अपरेटिङ सिस्टमको ज्ञान र सीप अति महत्त्वपूर्ण तथा आवश्यक छ । यही उद्देश्यका साथ निःशूल्क तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको क्याम्पसले जनाएको छ ।
यो तालिम सफलतापूर्वक सम्पन्न गरेपछि प्रशिक्षार्थीहरूले आधारभूत नेटवर्किङ तथा अपरेटिङ सिस्टमको सैद्धान्तिक र व्यावहारिक ज्ञान र सीप हासिल गर्नेछन । यस तालिममा सहभागी भई सफल हुने प्रशिक्षार्थीहरूले सिस्को सिस्टम्सले प्रदान गर्ने प्रमाणपत्र समेत पाउने छन् ।
१२ कक्षा उत्तीर्ण भई सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूले ९८५११३६१५७ मा फोन सम्पर्क गरी निःशूल्क तालिमका लागि भर्ना हुन सक्ने छन् । क्याम्पसका बीसीए कार्यक्रम संयोजक रामप्रसाद सुवेदीले ३५ देखि ४० जना विद्यार्थीलाई निःशुल्क तालिम उपलब्ध गराउने लक्ष्य रहेको बताए ।
"सकेसम्म इच्छुक धेरैभन्दा धेरै विद्यार्थीलाई तालिम दिन सकियोस् भन्नेमा छौं," उनले भने, "प्राप्त आवेदनका आधारमा बढीमा दुई सिफ्ट सञ्चालन गर्न सकिन्छ कि भन्ने कुरा पनि छ ।"