close

स्टिभ जब्सले हातले लेखेको कम्प्युटरको विज्ञापन २ करोड बढीमा बिक्री

टेकपाना टेकपाना

भदौ १४, २०८० १६:५५

स्टिभ जब्सले हातले लेखेको कम्प्युटरको विज्ञापन २ करोड बढीमा बिक्री

 

काठमाडौं । एप्पलका सह-संस्थापक एवं पूर्व सीईओ स्टिभ जब्सले हातले लेखेको विज्ञापन एक लाख ७५ हजार ७५९ डलर (करिब दुई करोड ३२ लाख १४ हजार रुपैयाँ) मा बिक्री भएको छ । आरआर अक्सनमा लिलामीमा राखिएको सो विज्ञापन गत शुक्रबार लिलामीमा बिक्री भएको हो ।

स्टिभ जब्सले लेखेको विज्ञापन त्यति स्तरीय देखिँदैन । उनले एप्पल वान मसिनको बारेमा आवश्यक जानकारी मात्र सो विज्ञापनमा समावेश गरेका थिए । “ब्रोड वन्ली प्लस म्यानुअल, डलर ७५ डलर, अ रियल डिल,” विज्ञापनमा देखिएको छ ।

विज्ञापनमा स्टिभ जब्सको सिग्नेचर, एप्पल वान बिक्री हुने ठाउँ उनको घरको ठेगाना राखिएको थियो । स्टिभ जब्सले हातले लेखेको विज्ञापनको ड्राफ्ट जुलाई १९७६ मा इन्टरफेस म्यागजिनमा छापिएको थियो । म्यागजिनमा छापिएको विज्ञापनमा एप्पल वानको दुई फोटो राखिएको छ ।

ती फोटो माउन्टेन भ्यु क्यालिफोर्नियामा रहेको बाइट शपबाट खिचिएका थिए । सो विज्ञापनको कपी स्टिभ जब्सका नजिकका साथीले अक्सनमा राखेका थिए । म्याक र्‍युमर्सका अनुसार बिक्रीमा राख्ने व्यक्ति एप्पल वान कम्प्युटर विकास गर्ने क्रमबाटै कम्पनीमा आवद्ध भएका थिए ।

उनलाई सो विज्ञापन निकै मन परेको भएर उनले स्टिभ जब्सबाट उपहार पाएका थिए । त्यसबाहेक एप्पलका सह-संस्थापक स्टिभ वजनियाकले हस्ताक्षर गरेको एप्पल वान कम्प्युटर छुट्टै दुई लाख २३ हजार ५२० डलरमा बिक्री भएको थियो ।

त्यस्तै स्टिभ जब्स र वजनियाकले १९७६ मा परिक्षण गरेको एप्पल कम्प्युटर एक लाख ३५ हजार २६१ डलरमा बिक्री भएको थियो ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८० १७:२०