काठमाडौं । मेटाले म्याक प्रयोगकर्तालाई लक्षित गर्दै ह्वाट्सएपको डेस्कटप भर्सन सार्वजनिक गरेको छ । कम्पनीले विन्डोजमा भएको ह्वाट्सएपभन्दा केही फिचर थप्दै म्याक प्रयोगकर्ताका लागि एप ल्याएको हो ।
यस एपको प्रमुख फिचर अन्तर्गत भिडिओ कलमा ८ जना र अडिओ कलमा ३२ जना व्यक्तिसम्म जोडिन सक्छन् । म्याक प्रयोगकर्तालाई सहज हुने गरी एपको रिडिजाइन गर्नुका साथै फाइलहरू ड्र्याग गरेर नै शेयर गर्न सकिने मेटाले जनाएको छ ।
त्यस्तै एप बन्द गरेको अवस्थामा पनि कल आएको नोटिफिकेसन थाहा पाउन सकिने, च्याट हिस्ट्री हेर्न सकिने जस्ता फिचर दिइएकाे छ ।
कम्पनीले केही समयदेखि म्याक प्रयोगकर्ताका लागि ह्वाट्सएप परीक्षण गरिरहेको थियो । यो वर्षको सुरुवाततिर पब्लिक बेटा समेत सार्वजनिक गरेको थियो । अब भने म्याक प्रयोगकर्ताले ह्वाट्सएपको पूरा फिचर प्रयोग गर्न पाउने भएका हुन् ।
यद्यपि एप चलाउन म्याकओएस ११ वा त्यो भन्दा नयाँ अपरेटिङ सिस्टम भने हुनपर्छ । मेटाले चाँडै नै एपस्टोर र वेबसाइटमा म्याकका लागि ह्वाट्सएप उपलब्ध हुने बताएको छ ।