close

फोन नम्बरकै भरमा छिनको छिन पैसा पठाउन मिल्ने फोनपे डाइरेक्ट, कत्तिको छ सुरक्षित ?

टेकपाना टेकपाना

भदौ १७, २०८० १५:२५

फोन नम्बरकै भरमा छिनको छिन पैसा पठाउन मिल्ने फोनपे डाइरेक्ट, कत्तिको छ सुरक्षित ?

काठमाडौं । आफ्नो एउटा बैंक खातामा भएको रकम अर्को बैंकमा पठाउनु पर्‍यो भने तपाईं के गर्नुहुन्छ ? साधारण उदाहरण दिने हो भने सबैभन्दा पहिला एटीएम वा चेक मार्फत आफ्नो बैंक अकाउन्टबाट रकम निकाल्नु हुन्छ र, त्यो रकम पठाउनुपर्ने सम्बन्धित बैंकमा जानु हुन्छ । 

एउटा बैंकको चेकमार्फत अर्को बैंकमा जम्मा गर्नुपर्‍यो भने रकम जम्मा हुन एक दिनको समय लाग्छ । यस बीच तपाईंको महत्त्वपूर्ण समयका साथै केही रकम पनि खर्च हुन्छ । 

विशेषगरी यात्रा गरेर बैंकसम्म जानुपर्ने छ भने त सकसै पर्छ । फेरि बैंक बन्द भइसकेको छ वा बैंकमा लामो लाइन छ रकम जम्मा गर्न काममा तनाब नै हुन्छ । 

यदि एउटा बैंकबाट मोटो रकम निकालेर अर्को बैंकमा जम्मा गर्नु छ भने बाटोमा असुरक्षाको डर पनि हुन्छ । हो यी सबै समस्याको समाधानका लागि भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपेले फोनपे डाइरेक्ट सेवा ल्याएको थियो । यही विषयमा फोन पेका प्रमुख रणनीति अधिकृत (CSO) सुबोध शर्मासँग गरिएको संक्षिप्त कुराकानीका अंश । 

प्रमुख रणनीति अधिकृतका रूपमा फोन पेमा तपाईंको भूमिका के हो ? फोन पेले ल्याएको फोनपे डाइरेक्ट अभियानलाई आकार दिन के गर्दै हुनुहुन्छ ?

मेरो भूमिका मुख्यतः फोन पेमा रहेका व्यवसाय मापन गर्नुका साथै डिजिटल इकोसिस्टमभित्र नयाँ सम्भावित अवसर खोज्नु हो । विश्वभर यस क्षेत्रमा थुप्रै नवीनतम प्रयोग भइरहेका छन् । 

नेपालमा यस्ता नवप्रवर्तनहरू सञ्चालन गर्न र निरन्तर नयाँ व्यापारका अवसरहरू खोजी गर्न सक्रिय छौं । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै हामी नवप्रवर्तनलाई प्राथमिकता दिन्छौं । 

ग्राहकका समस्या समाधान गर्न र उनीहरूलाई सहजताको वातावरण सिर्जना गर्न हामी संसारभर अवलम्बन गरिएका उत्कृष्ट प्रविधि आत्मसात् गर्दै आएका छौें ।  

फोन पे डाइरेक्टमा मेरो संलग्नताको कुरा गर्नुपर्दा हामीले हाम्रो अन्तर बैंक रकम स्थानान्तरण (Inter Bank Fund Transfer-IBFT) सेवा प्रवर्द्धन गर्न यही महिनादेखि ‘पैसा पठाउँ ठाउँको ठाउँ’ अभियान सुरु गरेका छौं ।

एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्न मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउन यो अभियान सञ्चालन गरेका हौं । यसलाई थप आकर्षक बनाउन दुई जना भाग्यशाली विजेतालाई आईफोन १४ प्रो मेगा गिभअवेको घोषणा पनि गरेका छौं । 

अझै पनि आफ्नो दैनिक जीवनमा नगदमा निर्भर हुने मानिसको सङ्ख्या ठूलो छ । यस्तो हुनुको प्रमुख कारण डिजिटल ग्याप पनि हो । थुप्रै मानिहरू हामीले प्रदान गर्ने डिजिटल सेवाका बारेमा अनभिज्ञ छन् । 

त्यसैले यस्ता अभियान ल्याएर मानिसहरूलाई डिजिटल र वित्तीय साक्षरताका साथै सचेत बनाउने कार्यमा जुटेका छौं । त्यसमा पनि हाम्रो सबैभन्दा लोकप्रिय सेवा ‘फोन पे डाइरेक्ट’को बारेमा बुझाउनका लागि थालिएको एउटा पहल हो । जसले बैंकका शाखाहरू र एटीएमहरूमा जाने आवश्यकतालाई हटाउँछ ।

 

फोनपे डाइरेक्ट के हो र फोन कसरी काम गर्छ ?

‘फोन पे डाइरेक्ट’ विभिन्न वित्तीय संस्थाहरूबीच हुने फन्ड ट्रान्सफरको सेवा हो । यसमा तीन मोडहरू छन्, जस मार्फत प्रयोगकर्ताले ‘फोन पे डाइरेक्ट’ कारोबार गर्न सक्छन् ।

सबैभन्दा लोकप्रिय भनेको फोन पे डाइरेक्टमार्फत फोन नम्बरकै भरमा एउटा बैंकदेखि अर्को बैंकमा रकम पठाउन सकिने सेवा हो । यसले प्रयोगकर्ताहरूको दैनिकीलाई निकै सहज बनाएको छ । किनभने प्रयोगकर्ताले पैसा पठाउन चाहेको व्यक्तिको बैंक खाता नम्बर सम्झिरहनु पर्दैन । 

त्यस्तै फोन पे डाइरेक्ट अन्तर्गतको अर्को मोडेल भनेको बैंक खाता नम्बरको प्रयोग मार्फत गरिने रकम ट्रान्सफर हो । यसैगरी तेस्रो विकल्प भनेको पाउने व्यक्तिको व्यक्तिगत क्यूआर स्क्यान गरी रकम पठाउन सकिने सुविधा हो । यी सबैमा फोन पे डाइरेक्टको भूमिका महत्त्वपूर्ण छ ।  

 

फोन पेले डिजिटल भुक्तानी क्षेत्रमा आफूलाई एक प्रमुख भुक्तानी प्रणाली सञ्चालक (PSO) का रूपमा स्थापित गरेको छ । फोनपे डाइरेक्टले यो कम्पनीलाई कसरी अगाडि बढ्न सघाइरहेको छ ? 

फोन पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । यसले विशेषगरी भुक्तानी तथा सेटलमेन्ट र यी विषयसँग सम्बन्धित कामको सेवा दिंदै आएको छ । फोन पेका लागि फोन पे डाइरेक्ट एउटा फ्ल्यागशिप प्रोडक्ट हो । 

यसले ६० भन्दा बढी बैंक, वित्तीय संस्था र वालेटका लगभग दुई करोड बढी प्रयोगकर्ताहरूलाई प्रत्यक्ष सेवा‍हरू उपलब्ध गराउँदै आएको छ । यो हाम्रो कोर स्विचिङ इन्फ्रास्टक्चरमा निर्मित सिमलेस इन्टरअपरेबल नेटवर्कमा निर्भर छ ।

हाम्रो देशलाई क्याशलेस अभियानतर्फ अघि बढाउन पनि हाम्रो यो प्रोडक्टले महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यसबाहेक पनि हामीले उपलब्ध गराउने क्यूआरमा आधारित भुक्तानीलाई सहज बनाउन आर्थिक रूपमा यही प्रोडक्टले सहारा दिएको छ । त्यसैले पनि हामीले हाम्रा अन्य सेवाहरू निःशुल्क उपलब्ध गराउँदै आएका छौं । 

फोन पेको स्थापना भएको तीन वर्षको अवधिमा हामीले जे हासिल गरेका छौं, त्यसमा हामी साँच्चै गर्व गर्छौं । हाम्रो देशलाई नगदरहित अर्थतन्त्रतर्फ लैजान महत्त्वपूर्ण भूमिका खेल्दै हाम्रा प्रविधिलाई धेरै मानिसहरूले अँगालेकाले हामीले तीव्र वृद्धिको अनुभव गरेका छौं ।

 

एउटा व्यक्तिगत खाताबाट अर्को व्यक्तिगत खातामा भुक्तानी गर्ने अर्थात् पियर टु पियर ट्रान्जेक्सनमा फोन पे डाइरेक्टको भूमिका कस्तो रहन्छ ? यसबाट हुने कारोबार कत्तिको भरपर्दो छ ?

फोनपे अन्तर बैंक पियर टु पियर (P2P) फन्ड ट्रान्सफरका लागि प्रमुख सहजकर्ता हो । फोन पे डाइरेक्ट जस्तो सेवाको आगमन हुनुअघि चेक वा नगद मार्फत मात्रै अन्तरबैंक कारोबार गर्न सम्भव थियो ।

फोन पे डाइरेक्टले फोनमा केही ट्याप गरेकै भरमा एक खाताबाट अर्को कुनै पनि खातामा रकम ट्रान्सफर गर्न सम्भव बनाएको छ । फोन पे डाइरेक्ट निकै सुरक्षित सेवा हो ।

यसमा हामीले त्यस्ता भेरिफिकेसन प्रोटोकल समावेश गरेका छौं, जसले रकम सही खातामा ट्रान्सफर गरेको सुनिश्चित गर्छ । यसबाहेक, लेनदेन भरपर्दो बनाउन टु फ्याक्टर अथेन्टिकेसनको सुविधा पनि दिइएको छ । 

 

तपाईंहरूले फोन पे डाइरेक्टलाई प्रयोगकर्तामाझ पुर्‍याउन साझेदार मोबाइल बैंकिङ प्लेटफर्महरूसँग के-कस्तो किसिमले सहकार्य गरिरहनु भएको छ ?

पहिलो र सबैभन्दा मुख्य कुरा हामीले हाम्रा ग्राहकलाई सेवा दिने प्लेटफर्मको इन्टरफेसलाई प्राथमिकता दिएका छौं । हाम्रो सिस्टमको यूआई तथा यूएक्स (UI/UX) का लागि हामीले धेरै समय खर्च गरेका छौं । 

किनभने यसले हाम्रा सेवाहरू प्रयोगकर्तामैत्री छन् भन्ने कुरा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । सबैभन्दा राम्रो र उत्कृष्ट इन्टरफेस अनुभव सुनिश्चित गर्न हामी बैंकहरूका एप डेभलपरसँग नजिक रहेर काम गर्दै आएका छौं । 

उत्पादन अघि मात्र होइन, साझेदार बैंक तथा वित्तीय संस्थालाई प्रयोगकर्ताको बीचमा चेतना जगाउन र यी सेवाहरू कसरी प्रयोग गर्ने भनेर उनीहरूलाई प्रशिक्षित गर्न समान रूपमा संलग्न छौं ।

 

डिजिटल भुक्तानी सुधार गर्ने फोन पेका आगामी योजनाबारे केही बताइदिन हुन्छ ?

हामीले हालै अफलाइन भुक्तानी प्रणाली घोषणा गरेका थियौं । हामीलाई के महसुस भयो भने नेपालमा अझै पनि सबैमाझ इन्टरनेट पहुँच पुग्न सकेको छैन । 

कतिपय ठाउँमा नेटवर्कको समस्या छ भने कहीं शुल्क महँगो भएकाले इन्टरनेट प्रयोग गर्नबाट वञ्चित छन् । त्यसबाहेक पनि सबै प्रयोगकर्तालाई हरेक अवस्थामा अनलाइन भइरहन सम्भव पनि हुँदैन । 

यस्ता सीमितताबाट हटाउन अफलाइन भुक्तानी प्रणालीले महत्त्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं । त्यो बाहेक पनि हामी आन्तरिक रूपमा विभिन्न नयाँ प्रणाली अवलम्बन गर्नमा केन्द्रित छौं ।  

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८० १५:३४