close

आईफोनको इमर्जेन्सी एसओएस फिचरका लागि स्याटलाइट प्रक्षेपण गर्दै स्पेसएक्स

टेकपाना टेकपाना

भदौ १८, २०८० १३:२६

आईफोनको इमर्जेन्सी एसओएस फिचरका लागि स्याटलाइट प्रक्षेपण गर्दै स्पेसएक्स

काठमाडौं । आईफोनमा हुने इमर्जेन्सी एसओएस भाया स्याटलाइट फिचरका लागि कम्युनिकेसन नेटवर्क अपडेट गर्न स्पेसएक्सले स्याटलाइट प्रक्षेपण गर्ने भएको छ ।  यसका लागि एप्पलको स्याटलाइट पार्टनर ग्लोबल स्टारले बिहीबार स्पेसएक्ससँग सम्झौता गरेको छ । 

अमेरिकी सञ्चारमाध्यम नोलाका अनुसार ग्लोबल स्टारले स्याटलाइट प्रक्षेपण गर्न स्पेसएक्ससँग छ करोड ४० लाख डलर (करिब आठ अर्ब ४५ करोड १२ लाख रुपैयाँ) को सम्झौता गरेको छ । सम्झौता अनुसार यो भुक्तानी कम्पनीले स्पेसएक्सलाई २०२३ देखि २०२५ को बीचमा गर्नु पर्नेछ ।

विशेषगरी स्पेसएक्सले स्याटलाइट प्रक्षेपण गर्ने क्रममा ग्लोबल स्टारले भुक्तानी गर्नुपर्ने बताइएको छ ।

एप्पलले गत वर्ष सार्वजनिक गरेको आईफोन १४ लाइनअपमा इमर्जेन्सी एसओएस भाया स्याटलाइट फिचर उपलब्ध गराएको थियो । यो फिचर आईफोन १४ अन्तर्गतको आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा रहेको छ ।

सेलफोन टावर नभएको वा इन्टरनेट उपलब्ध नभएको ठाउँमा प्रयोगकर्तालाई आपतकालीन सम्पर्क गर्न सघाउनका लागि कम्पनीले यो फिचर ल्याएको थियो । एप्पलको स्याटलाइट पार्टनर ग्लोबल स्टारले हाल सो फिचरलाई प्रभावकारी रूपमा काम गराउनका लागि स्याटलाइट व्यवस्थापनको काम गर्दै आएको छ ।

एप्पलले यो फिचर सार्वजनिक गर्दा दिई वर्षसम्म सबै यो फिचर सपोर्ट गर्ने फोन भएका प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता दिएको थियो । त्यसपछि कति शुल्क लाग्छ भन्नेबारे कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन ।

म्याक र्‍युमर्सका अनुसार ग्लोबल स्टारले स्पेक्स एक्सलाई तिर्ने रकम विशेषगरी स्याटलाइट प्रक्षेपण गर्नमा खर्च हुनेछ । र, त्यो सबै रकम एप्पलले बेहोर्नेछ । जसले गर्दा केही वर्षपछि कम्पनीले एसओएस फिचर प्रयोग गर्ने प्रयोगकर्ताबाट रकम उठाउने अनुमान गरिएको छ ।

हाल एसओएस फिचरको व्यवस्थापनको सबै जिम्मा ग्लोबल स्टारले लिएको छ । विशेषगरी सो फिचरका लागि आवश्यक सफ्टवेयर, स्याटलाइट सिस्टम र अन्य आवश्यक उपकरण व्यवस्थापन ग्लोबल स्टारले गर्दै आएको छ ।

आईफोन १४ सार्वजनिक भएसँगै ग्लोबल स्टारले क्यानेडियन कम्पनीबाट ३२ करोड ७० लाख डलर बराबरको स्याटलाइट उपकरण खरिद गरेको विभिन्न रिपोर्टले उल्लेख गरेका छन् । एप्पल यसमा लागेको सम्पूर्ण खर्च बेहोर्दै आएको छ ।

आईफोन १४ का सबै मोडेलमा इमर्जेन्सी एसओएस भाया स्याटलाइट उपलब्ध भए पनि सबै भूगोलका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाएका छैनन् । एप्पलका अनुसार यो फिचर हाल अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, आयरल्यान्ड, बेलायत, अस्ट्रिया, बेल्जियम, लक्जेम्बर्ग, नेदरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड र पोर्चुगलमा मात्र उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: भदौ १८, २०८० १३:२६