close

टाटाको बिजुली गाडी टियागो ईभी नेपाल आउँदै, कति होला मूल्य ?

टेकपाना टेकपाना

भदौ २१, २०८० ८:५८

टाटाको बिजुली गाडी टियागो ईभी नेपाल आउँदै, कति होला मूल्य ?

काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटाको सस्तो बिजुली कार टियागो ईभी नेपाल आउने भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको सिप्रदीले आफ्नो वेबसाइट मार्फत चाँडै यो बिजुली गाडी नेपाल आउन लागेको जानकारी दिएको हो ।

कम्पनीले टियागोलाई मिडियम र लङ रेञ्ज गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । मिडियम रेञ्जमा १९.२ र लङ रेञ्जमा २४ किलोवाटको लिथियम आयोन ब्याट्री दिइएको छ । टियागोमा हालिएको ब्याट्रीले आईपी सिक्स सेभेन (IP67) रेटिङ प्राप्त गरेको छ । यसकारण धुवाँ, धुलो र पानीले ब्याट्रीलाई ठूलो असर नगर्ने कम्पनीको भनाइ छ । 

यो गाडीलाई ७.२ किलोवाटको एसी फास्ट चार्जरले १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न साढे दुईदेखि  साढे तीन घण्टासम्म लाग्ने बताइएको छ । त्यस्तै डीसी फास्ट चार्जरबाट भने १० देखि ८० प्रतिशतसम्म ५८ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ । यसको चार्जिङ स्ट्यान्डर्ड भने सीसीएसटू (CCS2) हो । मिडियम रेञ्जको भेरियन्टले एक पटकको फुल चार्जमा २५० र लङ रेञ्जको भेरियन्टले ३१५ किलोमिटरसम्म दूरी पार गर्ने कम्पनीको भनाइ छ । 

२४० लिटरको बुट स्पेस भएको यस बिजुली गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड छन् । त्यस्तै गाडीमा अटो ड्राइभ मोड समेत रहेको छ । यी दुवै भेरियन्टमा फ्रन्टमा डिस्क र रेयरमा ड्रम ब्रेक छन् । गाडीमा ८ ओटा स्पिकर, १७.७८ सेन्टिमिटरको टचस्क्रिन, सुरक्षाका लागि एयरब्याग र पार्किङका लागि रिभर्स क्यामेरा राखिएका छन् ।

त्यस्तै रेन सेन्सिङ वाइपर, अटो हेड ल्याम्प, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी), एन्टीलक ब्रेकिङ सिस्टम (एबीएस), जस्ता फिचर दिइएको छ ।  कन्ट्रास्ट रुफ भएको यो गाडी सिङ्नेचर टियल ब्लु, डेटोना ग्रे, ट्रोपिकल मिस्ट, प्रिस्टाइन ह्वाइट र मिडनाइट प्लम गरी जाँच रङमा उपलब्ध हुने छन् ।

कम्पनीका अनुसार यो गाडीलाई टाटा मोटरको जेड कनेक्टेड नामक एपमा पनि कनेक्ट गर्न सकिन्छ । त्यसपछि एसी खोल्ने/बन्द गर्ने,‍‍ तापक्रम मिलाउने, गाडीको स्वास्थ्य परीक्षण गर्ने,  गाडीको लोकेसन ट्य्राक गर्ने जस्ता कामहरू  एपबाट नै गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै ‍गाडीलाई स्मार्टवाचसँग पनि कनेक्ट गर्न सकिने कम्पनीले बताएको छ । 

कम्पनीले मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ । भेहिकल वारेन्टी भने ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म दिएको छ । भारतमा आठ लाख ६९ हजार रुपैयाँ भारु (१३ लाख ९० हजार रुपैयाँ) पर्ने यो गाडी नेपाल आउँदा कति पर्ला त्यो विषय भने प्रतिक्षाकै विषय बनेको छ ।

यद्यपि २५ देखि ३० लाख रुपैयाँमै टियागो ईभी नेपालमा उलब्ध हुने अनुमान भने गर्न सकिन्छ । यो बिजली गाडीबारे थप बुझ्न ग्राहकले यहाँ क्लिक गरी फारम भर्नसक्ने छन् ।

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० १२:४२