close

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो क्याश डिपोजिट मसिन, यसरी लिनुहोस् सेवा

टेकपाना टेकपाना

भदौ २३, २०८० ८:४९

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो क्याश डिपोजिट मसिन, यसरी लिनुहोस् सेवा

काठमाडौं । ग्लोबल आईएमई बैंकले नगद जम्मा गर्ने मसिन सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई सहज होस् भन्ने मनसायले बैंकले विभिन्न शाखामा क्याश डिपोजिट मसिन सञ्जालनमा ल्याएको जानकारी दिएको हो ।

“ग्राहकहरूलाई टोकन लिएर धेरै समय कुरी क्याश डिपोजिट गर्दा सहजता भएन भनेर यो डिपोजिट मसिन हाम्रा शाखाहरूमा राखेका हौं,” बैंकले अपलाेड गरेकाे एक भिडिओमा भनिएको छ ।

बैंकका अनुसार एटीएमबाट रकम निकाले जस्तै क्याश डिपोजिट मसिनबाट सहजै रकम जम्मा गर्न सकिन्छ । डिपोजिट मसिनमा नगद जम्मा गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

-क्याश डिपोजिट मसिनमा गइसकेपछि सबैभन्दा पहिले आफ्नो खातामा जम्मा गर्ने हो वा अन्य व्यक्तिको खातामा जम्मा गर्ने हो त्यो छान्नुपर्ने हुन्छ । 

-त्यसपछि नगद जम्मा गर्न गएको व्यक्तिले आफ्नो सम्पर्क नम्बर टाइप गर्नुपर्ने हुन्छ । (यो रकम जम्मा गरिदिने व्यक्तिको आईडी भेरिफिकेसनका लागि राखिएको बैंकले जनाएको छ ।)

-मोबाइल नम्बर राखेर कन्टिन्युको बटनमा ट्याप गर्नुपर्ने हुन्छ । 

-अनि आफ्नो मोबाइल नम्बरमा आएको ओटीपी नम्बर सो मसिनमा टाइप गरेर 'कन्टिन्यु' बटनमा ट्याप गर्नुहोस् । 

-यति गरेपछि आफूले नगद जम्मा गर्न लागेको अकाउन्ट नम्बर टाइप गर्नुहोस् । 

-अकाउन्ट नम्बर राखिसकेपछि पुनः कन्टिन्युको बटन थिच्नुपर्ने हुन्छ । यति भएपछि स्क्रिनमा अकाउन्ट नम्बर र अकाउन्ट होल्डरको नाम देखिन्छ । यी दुई जानकारी हेरेर रकम आफूले पठाउन लागेको अकाउन्टमा जाँदै छ भन्ने निश्चित गर्नुपर्छ । यो ठीक भएको अवस्थामा ‘Yes’ बटन थिच्नुहाेस्। 

-अनि स्क्रिनमा नगद मसिनमा राख्न भनिएको हुन्छ । त्यसपछि आफूले जम्मा गर्न ल्याएको रकम मसिनको माथिपट्टिको भागमा राख्नुपर्ने हुन्छ ।

-यति भइसकेपछि तपाईंले राखेको हजारको नोट कति र पाँच सयको नोट कति स्क्रिनमा देखाउँछ । यो ठीक छ भने ‘कन्फर्म डिपोजिट’ बटनमा ट्याप गर्नुहोस् । 

-यो सबै प्रक्रिया सकिएपछि तपाईंले डिपोजिट गरेको रकमको रसिद आउँछ । यदि तपाईंलाई उक्त रसिदको कपी चाहिन्छ भने मसिनको स्क्रिनमा देखिएको कपी बटनमा थिचेर अर्को रसिद निकाल्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २३, २०८० ८:५४