काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आदित्य- एल १ (Aditya L1 Mission) ले पठाएको पहिलो तस्वीर सार्वजनिक गरेको छ । सूर्यको अध्ययनका लागि गत भदौ १६ गते प्रक्षेपण गरिएको उक्त यानले खिचेका दुई तस्वीर हालै इसरोले सार्वजनिक भएको हो ।
यसअन्तर्गत इसरोले आदित्य- एल १ यानमा जडित क्यामेराबाट सेप्टेम्बर ४ मा लिइएका तस्वीरहरू बाहिरिएकाे छ । त्यसमध्ये एउटा तस्वीरमा एउटै फ्रेमभित्र पृथ्वी र चन्द्रमा देखिन्छन्, जसमा पृथ्वी निकै ठूलो देखिएको छ भने चन्द्रमा निकै टाढा र सानो धब्बाजस्तो देखिन्छ ।
त्यस्तै दोस्रो तस्वीरमा सूर्यतर्फ गइरहेको आदित्य- एल १ यानमा रहेका सात ओटा वैज्ञानिक उपकरणहरूमध्ये दुई ओटा उपकरण देखिन्छन् । १२५ दिने मिसनमा उडेको आदित्य- एल वन पृथ्वीको कक्षमा १६ दिनसम्म रहनेछ ।
चार महिनाको यात्रापछि उपग्रहलाई सूर्यको परिक्रमा गर्ने कक्षको एलवन विन्दुमा राखिने छ । यो विन्दु पृथ्वीभन्दा १५ लाख किलोमिटर माथि छ ।
एल वन विन्दुमा रहेको हलो अर्बिटमा राखिने स्याटलाइटले सूर्यलाई प्रत्यक्ष रूपमा देख्न सक्नेछ । र, त्यसबाट सूर्यको अध्ययन गर्न सकिने इसरोले जनाएको छ । विशेषगरी सौर्य गतिविधि र वास्तविक समयमा त्यसले अन्तरिक्ष मौसममा पार्ने प्रभावबारे अध्ययन हुने बताइएको छ ।