close

टियागो ईभी नेपाली बजारमा सार्वजनिक, सुरुवाती मूल्य २२ लाख

टेकपाना टेकपाना

भदौ २६, २०८० १७:१९

टियागो ईभी नेपाली बजारमा सार्वजनिक, सुरुवाती मूल्य २२ लाख

 

काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटाको सस्तो बिजुली कार टियागो ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीले नाडा अटो शोमा टियागो ईभी सार्वजनिक गरेको हो ।

कम्पनीले टियागोलाई मिडियम र लङ रेञ्ज गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । मिडियम रेञ्ज अन्तर्गत एक्सई र एक्सटी मोडेल छन् भने लङ रेञ्ज अन्तर्गत एक्सटी, एक्सजेड प्लस, एक्स जेड प्लस टेक लक्स मोडेल रहेका छन् ।

मिडियम रेञ्ज अन्तर्गतको टियागो ईभी एसईको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै मिडियम रेञ्ज अन्तर्गतको टियागो ईभी एक्सटीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी लङ रेञ्ज अन्तर्गतको टियागो ईभी एक्स टीको मूल्य २५ लाख ४९ हजार, एक्स जेड प्लसको मूल्य २६ लाख ९९ हजार, एक्स जेड प्लस टेक लक्सको मूल्य २७ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।

मिडियम रेञ्जमा १९.२ र लङ रेञ्जमा २४ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ । टियागोमा राखिएको ब्याट्रीले आईपी सिक्स सेभेन (IP67) रेटिङ प्राप्त गरेको छ । यसकारण धुवाँ, धुलो र पानीले ब्याट्रीलाई ठूलो असर नगर्ने कम्पनीको भनाइ छ ।

टियागो ईभीको मिडियम रेञ्जमा ४५ किलोवाट र लङ रेञ्जमा ४९.०१ किलोवाट क्षमताको पर्मानेन्ट सिन्क्रोनस मोटर दिइएको छ । यो गाडीलाई ७.२ किलोवाटको एसी फास्ट चार्जरले १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न साढे दुईदेखि साढे तीन घण्टासम्म लाग्ने बताइएको छ ।

त्यस्तै डीसी फास्ट चार्जरबाट भने १० देखि ८० प्रतिशतसम्म ५८ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ । यसको चार्जिङ स्ट्यान्डर्ड भने सीसीएसटू (CCS2) हो । मिडियम रेञ्जको भेरियन्टले एक पटकको फुल चार्जमा २५० र लङ रेञ्जको भेरियन्टले ३१५ किलोमिटरसम्म दूरी पार गर्ने कम्पनीको भनाइ छ ।

२४० लिटरको बुट स्पेस भएको यस बिजुली गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड छन् । त्यस्तै गाडीमा अटो ड्राइभ मोड समेत रहेको छ । यी दुवै भेरियन्टमा फ्रन्टमा डिस्क र रेयरमा ड्रम ब्रेक छन् । गाडीमा ८ ओटा स्पिकर, १७.७८ सेन्टिमिटरको टचस्क्रिन, सुरक्षाका लागि एयरब्याग र पार्किङका लागि रिभर्स क्यामेरा राखिएका छन् ।

त्यस्तै रेन सेन्सिङ वाइपर, अटो हेड ल्याम्प, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी), एन्टी-लक ब्रेकिङ सिस्टम (एबीएस) जस्ता फिचर दिइएको छ ।  कन्ट्रास्ट रुफ भएको यो गाडी सिङ्नेचर टियल ब्लु, डेटोना ग्रे, ट्रोपिकल मिस्ट, प्रिस्टाइन ह्वाइट र मिडनाइट प्लम गरी जाँच रङमा उपलब्ध हुनेछन् ।

कम्पनीका अनुसार यो गाडीलाई टाटा मोटरको ‘जेड कनेक्टेड’ नामक एपमा पनि कनेक्ट गर्न सकिन्छ । त्यसपछि एसी खोल्ने/बन्द गर्ने,‍‍ तापक्रम मिलाउने, गाडीको स्वास्थ्य परीक्षण गर्ने,  गाडीको लोकेसन ट्र्याक गर्ने लगायतका काम  एपबाट नै गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै ‍गाडीलाई स्मार्टवाचसँग पनि कनेक्ट गर्न सकिने छ ।

कम्पनीले मोटर र ब्याट्रीमा ८ वर्ष वा एक लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ । भेहिकल वारेन्टी भने तीन वर्ष वा एक लाख २५ हजार किलोमिटरसम्म दिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८० १७:१९