close

एप्पल वाच सिरिज नाइन सार्वजनिक, दुई औंला जोडेकै भरमा कल उठाउन र काट्न सकिने

टेकपाना टेकपाना

भदौ २७, २०८० १३:१५

एप्पल वाच सिरिज नाइन सार्वजनिक, दुई औंला जोडेकै भरमा कल उठाउन र काट्न सकिने

 

काठमाडौं । एप्पलले अहिसम्मकै स्तरीय स्मार्टवाचका रूपमा एप्पल वाच सिरिज नाइन सार्वजनिक गरेको छ । मंगरवार राति आयोजित एप्पल इभेन्टमा कम्पनीले पछिल्लाे वाच सिरिज सार्वजनिक गरेको हो । 

एस नाइन चिपमा रिडिजाइन गरिएको एप्पल वाच सिरिज नाइनको सीपीयूमा पाँच अर्ब ६० करोड ट्रान्जिस्टर रहेका छन् भने जीपीयू पहिलेको तुलनामा ३० प्रतिशत फास्ट छ । यसमा फोर-कोर न्युरल इन्जिन समावेश गरिएको छ । यसले सिरीलाई स्तरीय बनाउने कम्पनीले जनाएको छ । 

यो वाचमा सेकेन्ड जेनेरेसनको अल्ट्रावाइड ब्यान्ड चिप पनि समावेश गरिएको छ । यसको सहायताले प्रयोगकर्ताले आफ्नो आईफोन कता छ फेला पार्न सक्छन् । यो एप्पल वाचको उच्चतम् ब्राइटनेस २००० निट्स रहेको छ । जुन सिरिज एट (८) को तुलानामा दुई गुणाले बढी हो ।

सिरिज नाइनमा भएको सबैभन्दा युनिक फिचर भनेको डबल ट्याप फिचर हो । यो यस्तो फिचर हो जहाँ प्रयोगकर्ताले हातका दुई ओटा औंला (बुढी र चोरी औंला)को सहायताले घडीलाई नियन्त्रण गर्न सक्छन् ।

विशेषगरी फोन उठाउन तथा फोन काट्न सक्छन् । हालै एप्पलले सार्वजनिक गरेको भिजन प्रोमा पनि यस्तो फिचर ल्याएको थियो । यसमा प्रयोगकर्ताले औंलालाई भिजन प्रो अगाडि राखेर नियन्त्रण गर्न सक्छन् । त्यस्तै वाचमा भएको सेन्सरले औंलाको चाललाई महसुस गरी फोन आउँदा फोन उठाइदिने र फोन काट्नुपर्ने फोन काटिदिने सुविधा दिने बताइएको छ । 

अल्मुनियम धातु रहेको एप्पल वाच सिरिज पिङ्क, स्टारलाइट, सिल्भर, मिडनाइट र प्रडक्ट रेडमा उपलब्ध हुनेछ भने स्टेनलेस स्टिल भर्सनको सिरिज नाइन गोल्ड, सिल्भर र ग्राफाइट कलरमा उपलब्ध हुनेछ । आजदेखि प्रि-अर्डर गर्न सकिने यो स्मार्टवाच बजारमा सेप्टेम्बर २२ देखि उपलब्ध हुनेछ । जसको सुरुवाती मूल्य ३९९ डलर (करिब ५२ हजार रुपैयाँ) पर्नेछ । 

एप्पलले वाच सिरिज नाइनमा रिसाइकल गरिएको मटेरियल प्रयोग गरेको छ । कम्पनीले यसलाई एप्पलको पहिलो शून्य कार्बन प्रडक्ट भएको समेत दाबी गरेको छ । यसको प्याकेजिङ पनि सानो भएको र त्यसलाई अन्य डिभाइससँगै सहजै शिपिङ गर्न सकिने कम्पनीको भनाइ छ । यसमा वाच ओस टेन अपरेटिङ सिस्टम रहेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८० १३:१५