close

इनड्राइभ राइडरबाट ठगी भए कसलाई कसरी गुनासो सुनाउने ?

टेकपाना टेकपाना

भदौ २८, २०८० १६:४१

इनड्राइभ राइडरबाट ठगी भए कसलाई कसरी गुनासो सुनाउने ?

काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभमा कुनै पनि समस्या आए च्याट सपोर्टमार्फत सम्पर्क गर्न कम्पनीले आग्रह गरेकाे छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै इनड्राइभका लागि एसिया निर्देशक रोमन इमर्शिनले उपभोक्ताले त्यति समस्या भोगेको थाहा नभएको र यदि केही समस्या आएमा एपबाटै ग्राहक प्रतिनिधिसँग च्याट गर्न सकिने बताए ।

“अन्य देशको तुलनामा नेपालमा राइडरबाट हुने ठगीका घटना कम छन्,” इमर्शिनले भने, “त्यस सन्दर्भमा हामीले त्यति समस्या भोगेका छैनौं । यदि कुनै राइडरले ठगी गर्‍यो भने त्यस्तो अवस्थामा उपभोक्ताले हाम्रो एपमा भएका सेफ्टी फिचर प्रयोग गर्न सक्नेछन् ।”

त्यसमा भएको सेफ्टी फिचर प्रयोग गरी आफ्ना नजिकका व्यक्तिसँग च्याट गर्ने वा प्रहरीलाई सम्पर्क गर्न सक्ने इमर्शिनले बताए । 

“यहाँ सपोर्ट टिममा भएका कर्मचारीले सात दिन चौबिसै घण्टा उपभोक्ताका गुनासो सम्बोधन गर्नेछन्,” उनले भने, “उपभोक्ताबाट हामीले आफ्नो सामान गाडीमा छुटेको, राइडर वा ड्राइभरले तीव्र गतिमा सवारी हाँकेको यस्ता गुनासो सुनिरहेका हुन्छौं । यी त्यति ठूला समस्या होइनन् ।”

यसो त उपभोक्तालाई गुनासो गर्नका लागि भौतिक कार्यालय भए बढी सहज हुन्छ । तर, नेपालमा इनड्राइभको भौतिक कार्यालय छैन । त्यसैले भौतिक रूपमै उपभोक्ताको गुनासो सुन्ने र समाधान गर्नका लागि भौतिक कार्यालयको तयारी गरिरहेको इमर्शिनले सुनाए ।

उनले अगाडि भने, “एक पटक औपचारिक रूपमा दर्ता भइसकेपछि हामी कार्यालय स्थापना गर्छौं । हामी अहिले सरकारबाट स्वीकृति पर्खिरहेका छौं ।”

नेपालीहरू एक अर्कासँगै चाँडै घुलमिल हुने, कुरा गर्ने, सम्बन्ध बनाउने भएकाले यात्रु र राइडरसँग त्यस्तो समस्या पर्ने सम्भावना कम भएको उनको भनाइ छ । यद्यपि आफूहरू हरेक तवरबाट उपभोक्ताको समस्या समाधान गर्न प्रयासरत रहेको उनले सुनाए ।

कार्यालय स्थापना गरिसकेपछि पनि उपभोक्ता कार्यालयमा आउनुअघि नै उनीहरूको समस्या समाधान गर्ने किसिमका फिचरहरू ल्याउने इमर्शिनले सुनाए ।

चाँडै नै एपमा ‘लस्ट एन्ड फाउन्ड’ सेक्सन राख्न लागिएकाे जानकारी दिँदै उनले यात्रुकाे सामान हराए फेला पार्न सहयाेग पुग्ने बताए ।

पछिल्लो अध्यावधिक: भदौ २८, २०८० १६:४१