close

टुटलमा थपियो पार्सल डेलिभरी सेवा

टेकपाना टेकपाना

साउन २५, २०८१ १३:३९

टुटलमा थपियो पार्सल डेलिभरी सेवा

काठमाडौं । राइड-शेयरिङ प्लेटफर्म टुटलले डेलिभरी सेवा घोषणा गरेको छ । सेवाग्राहीलाई प्रभावकारी, सुरक्षित र विश्वासिलो समाधान प्रदान गर्ने लक्ष्य सहित कम्पनीले काठमाडौं उपत्यकामा यस्तो सेवा विस्तार गरेको हो ।

टुटल एप प्रयोग गरी सेवाग्राहीले एक्सप्रेस, नर्मल र मल्टिस्टप डेलिभरीमध्ये आफूलाई उपयुक्त सेवा लिन सक्नेछन् । कम्पनीका अनुसार एक्सप्रेस डेलिभरी अन्तर्गत सहरभरि प्याकेज र कागजातलाई तुरुन्तै र सजिलै पठाउन सकिने छ ।

त्यस्तै नर्मल डेलिभरी अन्तर्गत प्याकेज, कागजात र अन्य सामग्रीलाई किफायती मूल्यमा ३-४ घण्टाभित्र डेलिभरी गर्ने कम्पनीले जनाएको छ । मल्टिस्टप डेलिभरी अन्तर्गत व्यावसायिक तथा व्यक्तिगत ग्राहकले विभिन्न स्थान‍मा एकैपटक धेरै प्याकेज पठाउन सक्नेछन् । 

टुटल एपमै पिकअप समय निर्धारण, डेलिभरी ट्र्याकिङ तथा अर्डर व्यवस्थापनको सुविधा रहेको कम्पनीले जनाएको छ ।

हाल दुई पाङ्ग्रे सवारीबाट सेवाग्राहीका पार्सल एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याइने टुटलका प्रबन्ध निर्देशक रुविक जोशीले टेकपानालाई जानकारी दिए । एक्सप्रेस डेलिभरी सेवा अन्तर्गत राइड सेवाकै अनुकूल सेवाशुल्क पर्ने तथा नर्मल र मल्टिस्टप डेलिभरीको शुल्क तुलनात्मक रूपमा सस्तो पर्ने उनले जनाए ।

उनले भने, “हामी प्रविधिको उपयोग गरी उत्कृष्ट सेवा दिने र सवारी चालक तथा सेवाग्राहीहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने प्रयासमा छौं ।”

पछिल्लो अध्यावधिक: साउन २५, २०८१ १४:०