काठामडौं । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले यही ३१ भदौमा आयोजना गर्ने भनिएको नेपाल ब्लकचेन कन्क्लेभ स्थगित भएको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै क्यानले अप्रत्याशित कारणले कार्यक्रम स्थगित गर्नुपर्ने जानकारी गराएको हो ।
क्यानले अप्रत्याशित भने पनि कार्यक्रमका लागि स्पोन्सर तथा आयोजना गर्दा लाग्ने खर्च जुटाउन नसक्दा कन्क्लेभ स्थगित भएको बुझिएको छ । क्यानका महासचिव चिरञ्जीवी अधिकारीले १५ देखि २० लाख रुपैयाँ खर्च लाग्ने भए पनि हालसम्म आठ लाख रुपैयाँको मात्रै स्पोन्सर निश्चित भएको बताए ।
यद्यपि उक्त कार्यक्रमका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरण प्रमुख मध्येको एक स्पोन्सर हुने भनिएको थियो । तर प्राधिकरणले आफ्नो वार्षिक कार्यक्रम स्वीकृत हुन नसकेको अवस्थामा सहयोग उपलब्ध गराउन नसकिने जवाफ दिएको बुझिएको छ ।
यस्तोमा प्राधिकरण पछाडि हटेपछि तत्कालका लागि कन्क्लेभ स्थगित भएको हो । क्यानले नेपालमा ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्धन गर्न सरोकारवालाहरू बीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको बताएको थियो ।
"क्यान महासंघका पदाधिकारीको निर्णय अनुसार अर्को निर्णय नभएसम्मका लागि हाललाई (ब्लकचेन कन्क्लेभ) स्थगित गरिएको छ," विज्ञप्तिमा भनिएको छ । क्लक बी बिजनेस टेक्नोलोजी सहआयोजक रहने भनिएको उक्त कार्यक्रममा ब्लकचेन कम्युनिटी नेपाललाई कम्युनिटी पार्टनरको रुपमा राखिएको थियो ।