close

आईफोन १५ प्रो म्याक्समा एप्पलले किन दिएन १० गुणसम्म जुम गर्न मिल्ने लेन्स ?

टेकपाना टेकपाना

असोज ६, २०८० १५:३४

आईफोन १५ प्रो म्याक्समा एप्पलले किन दिएन १० गुणसम्म जुम गर्न मिल्ने लेन्स ?

काठमाडौं । आईफोन १५ सिरिजमा सबैभन्दा महँगाे मोडेल हो, आईफोन १५ प्रो म्याक्स । यसमा प्रयोग गरिएको पेरिस्कोप लेन्स (फोल्ड गर्न मिल्ने लेन्स)ले पनि यो मोडेललाई उत्कृष्ट बनाउन सहयोग गरेको छ ।

एप्पलले गत वर्षको तुलनामा लेन्सलाई तीन गुणाबाट पाँच गुणासम्म जुम गर्न मिल्ने बनाएको छ । तर एप्पलको प्रतिस्पर्धी सामसङको ग्यालेक्सी एस२३ अल्ट्रामा १० गुणासम्म जुम गर्न सकिन्छ । एप्पलले नयाँ फ्ल्यागशिप फोनमा किन यो फिचर ल्याएन त ? यस विषयमा एप्पलले हालै केही कारण खुलाएको छ ।

एप्पलका फोटो सफ्टवेयर इन्जिनियरिङका उपाध्यक्ष जोन म्याककोर्म्याक र आईफोन मार्केटिङका ​​वरिष्ठ निर्देशक म्याक्सिम भेरोनले फ्रान्सेली मिडिया नुमेरामालाई अन्तर्वाता दिने क्रममा यसबारे चर्चा गरेका छन् । उनीहरूले आईफोन १५ प्रो म्याक्समा एप्पलले १० गुणासम्म जुम नदिनुको तर्क निम्न अनुसार दिएका छन्:

१० गुणासम्म जुम कमै गरिन्छ

सामान्यतः डीएसएलआर क्यामेरामा १० गुणा जुम भनेको १२० एमएम लेन्स प्रयोग गर्नु हो, जुन अधिकांश फोटोग्राफरले नियमित रूपमा प्रयोग गर्दैनन् । फोटोग्राफरहरूले प्राय: २४-७० एमएमको लेन्स प्रयोग गर्छन् । तर यति मात्र होइन ।

श्यालो डेप्थ अफ फिल्ड (फोटोमा 'सब्जेक्ट' बाहेक ब्याकग्राउन्डमा भएका अन्यलाई धमिलो बनाउने) को कारण पनि आईफोन १५ प्रो म्याक्समा १० गुणासम्म जुम गर्ने फिचर उपलब्ध नभएको हो ।

किनकी जति सानो सेन्सर भयो, फोटोमा अप्टिकल बोके (फोटोमा फोकस गरिएका बाहेक अन्य ठाउँमा हुने ब्लर) ल्याउन त्यति नै लामो लेन्स चाहिन्छ । जुन १० गुणासम्म जुम क्षमता भएको आईफोनमा हालिने लेन्स पर्याप्त हुँदैन थियो ।

१० गुणासम्म जुम गर्दा 'स्टेबल' गर्न गाह्रो हुन्छ 

डीएसआरएल क्यामेरामा १२० एमएम लेन्स प्रयोग गरेर राम्रो फोटो खिच्न ट्राइपड वा मोनोपड प्रयोग गर्नै पर्छ । नत्र त फोटो खिच्दा हात हल्लिन्छ र फोटो बिग्रन्छ ।

फोनमा पाँच गुणासम्म जुम गरेर फोटो खिच्दा राम्रै नतिजा पाइन्छ । तर १० गुणा जुम गरेर नहल्लिएको फोटो खिच्न गाह्रो हुन्छ ।

जुमभन्दा एपर्चर महत्त्वपूर्ण हुन्छ 

एप्पलले आईफोन १५ प्रो म्याक्समा बढी जुमभन्दा पनि ठूलो एपर्चर (वाइडर एपर्चर - सानो 'एफ' नम्बर) लाई महत्त्व दिएको छ । प्रकाश कम भएको समयमा यस्तो एपर्चर निकै उपयोगी हुन्छ । वाइडर एपर्चरमा सटर स्पिड (फोटो खिच्ने गति) पनि निकै छिटो हुन्छ । यसले गर्दा कुदिरहेको, गुडिरहेको वस्तुको फोटो खिच्न सकिन्छ ।

डीएसएलआर क्यामेरा बोक्ने फोटोग्राफरहरू पनि वाइडर एपर्चर भएको क्यामेरा चाहन्छन् । त्यस्तै प्रतिस्पर्धी सामसङले १० गुणासम्म जुम गर्न मिल्ने बनाएपनि एपर्चरमा सम्झौता  (f/4.9) गरेको देखिन्छ । तब कि आईफोन १५ प्रो म्याक्समा ठूलो एपर्चर (f/2.8) दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ६, २०८० १५:४९