काठमाडौं । भारतको फोनपेले गुगललाई चुनौती दिंदै आफ्नो छुट्टै एप स्टोर सार्वजनिक गरेको छ । शून्य शुल्क र इन-एप खरिदमा कमिसन नलिने बाचा सहित कम्पनीले आइतवार इन्डस एप स्टोर डेभलपर प्लेटफर्म सुरु गरेको हो ।
वालमार्टको लगानी रहेको भारतीय फिनटेक (वित्तीय प्रविधि) कम्पनीले गुगलको ठूलो बजार बनाउने एन्ड्रोइड डेभलपरलाई पछि पार्ने उद्देश्य लिएको छ । भारतको बैङ्ग्लोरमा मुख्यालय रहेको फोनपेको भुक्तानी एपमा ४५ करोडभन्दा बढी रजिस्टर गराएका प्रयोगकर्ता छन् ।
कम्पनीका अनुसार डेभलपरले आइतवार देखि नै भारतमा बनेको एप स्टोरमा रजिस्टर गर्न र आफ्नो एप अपोड गर्न सक्छन् । एप स्टोरका लागि फोनपेले विभिन्न फोन निर्मातासँग सहकार्य गर्नुका साथै थर्ड पार्टी भुक्तानी प्रदायक, १२ ओटा भारतीय भाषाका साथै फोन नम्बरको आधारमा लगईन गर्न सकिने सिस्टम जस्ता स्थानीयता सुहाउँदा फिचर समेत राखिएका छन् ।
फोनपेले पहिलो वर्षका लागि डेभलपरलाई कुनै किसिमको सूचीकरण शुल्क नलिने र त्यसपछि नगन्य रकम लिने बताएको छ । त्यस्तै उक्त स्टार्टअपले इन-एप खरिदमा कुनै किसिमको कमिसन नलिने बताएको छ, जब कि गुगलले सोही शीर्षकमा १५ देखि ३० प्रतिशतसम्म कमिसन लिंदै आएको छ ।
फोनपे भारतको यूपीआईमा आधारित भुक्तानीको अग्र स्थानमा आउँछ । कम्पनीका अनुसार भारतमा रहेको टिमले डेभलपरका लागि सहायता उपलब्ध गराउनुका साथै गुगलको ढिलासुस्तीपूर्ण प्रतिक्रिया र अमेरिकी कार्यालय समयसँग असन्तुष्ट रहेका स्थानीय डेभलपरको सरोकारलाई सम्बोधन गर्नेछ ।
फोनपेले पछिल्लो चौमासिकमा मात्रै ८५ करोड अमेरिकी डलर लगानी जुटाएको थियो र उसले सन् २०२१ मा इन्डसओएस अधिग्रहण गरेको थियो । इन्डस एपस्टोर डेभलपर प्लेटफर्म यस्तो बेला सार्वजनिक भएको छ, जतिखेर धेरैजसो भारतीय व्यवसाय र स्टार्टअप गुगलसँग हैरान भएका छन्, जसको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टम भारतका ९५ प्रतिशत स्मार्टफोनमा प्रयोग भइरहेको छ ।
"इन्डस एपस्टोर डेभलपरलाई गुगल प्लेस्टोरको उल्लेखनीय विकल्प प्रदान गर्नेमा आशावादी छ-एउटा यो थप स्थानीयता सुहाउँदो छ र राम्रो एप फेला पार्ने सुविधासँगै उपभोक्ताको सक्रियता उपलब्ध गराउँछ," इन्डस एपस्टोरका सहसंस्थापक तथा प्रमुख उत्पादन अधिकृत आकाश डोङ्ग्रेले भनेका छन् ।
गुगल प्ले स्टोरले थोपरेको अत्यधिक शुल्कसँग जुध्न फोनपेले देखाएको यो अग्रसरता स्थानीय आन्टरप्रेनरको तर्फको पहिलो प्रयास भने होइन । हालैका वर्षमा थुप्रै भारतीय व्यवसायले हस्तक्षेपका लागि नयाँ दिल्लीको ढोका ढकढकाउँदै आएका छन् र केहीले पेटीएमको नेतृत्वमा मिनी एप स्टोर गठबन्धनमा आशा राखेका छन् ।
यसअघि फ्लिपकार्टको हिस्सा रहेको र हाल वालमार्टको लगानी रहेको फोनपेले थर्डपार्टी एप स्टोर र रियल-टाइम एनालिटिक्स, इन-डेप्थ इन्डस्ट्री इन्साइट र प्रतिस्पर्धी मूल्याङ्कन जस्ता स्थानीय आवश्यकता सुहाउँदा फिचरका लागि भारतीय नियामकले गुगललाई मनाउनेमा आशा राखेको छ ।
जसले गर्दा यसअघिका प्रयास भन्दा यो सफल हुने उसको विश्वास छ । गुगलका लागि भारत मुख्य विदेशी बजार हो । जहाँ उसले पछिल्लो एक दशकमा १० अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । १२ अर्ब अमेरिकी डलर मूल्य बराबरको कम्पनीको रूपमा रहेको फोनपेले यसै वर्ष एउटा ईकमर्स एप सार्वजनिक गरेको थियो र गत महिना मात्र शेयर मार्केट नामक एप ल्याएको थियो, जसले प्रयोगकर्तालाई व्यापारिक खाता खोल्न र स्टक, म्युचुअल फन्ड र ईटीएफमा लगानी गर्ने सुविधा दिन्छ ।